पाकिस्तानी प्रधानमन्त्री सरिफलाई भ्रष्टाचार अभियोग लाग्न सक्ने !

362

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनीमाथि भ्रष्टाचारको अभियोग लाग्ने सम्भावना बढेको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले उनीमाथि भ्रष्टाचारको अभियोग दर्ता गर्ने विषयमा विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गतवर्ष पानामा पेपर काण्डमा उनका सन्तानहरुको नाम पनि भेटिएपछि सम्पत्तिको स्रोत अनुसन्धानको लागि दबाब बढ्दै गएको थियो ।
प्रधानमन्त्री सरिफका सन्तानले लण्डनमा फ्ल्याट किन्नको लागि केही अफसोर कम्पनी प्रयोग गरेको खुलेको थियो । अफसोर कम्पनी प्रयोग गरि फ्ल्याट किनिए पछि उनीहरुले स्रोत नखुलेको धन लुकाउनको लागि त्यसो गरेको आशंका बढेको छ तर सरिफले भने यो कुरा नकार्दै आइरहेका छन् ।

लण्डनमा रहेको फल्याट आफुले वैधानिक रुपले लिएको तर आफुले व्यक्तिगत तरिकाले ती फ्ल्याट नकिनेको दाबी उनले गर्दै आएका छन् । तर विपक्षीहरुले भने उनले ती सबै सम्पत्ति अवैधानिक तवरले आर्जन गरेको आरोप लगाउंदै उनको राजिनामाको माग गर्दै आएका छन् ।
यसअघि पनि उनीमाथि लागेको भ्रष्ट्राचारको आरोपबारे अनुसन्धान गर्नको लागि अप्रिलमा एक जोइन्ट इन्भेष्टिगेसन टिम बनाइएको थियो जसले प्रधानमन्त्री सरिफको सम्पत्तिमा व्यापक परिवर्तन फेला परेको थियो ।