Home निर्वाचन चुनावमा घात गरेको भन्दै कास्की कांग्रेसका ६ नेतामाथि कारबाही
पोखरा । नेपाली कांग्रेस, कास्की क्षेत्र नम्बर ४ ले चुनावमा घात गर्ने ६ जनालाई कार्वाही गरेको छ ।
कांग्रेस क्षेत्रीय समितिको बैठकले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेद्वारी दिने २ जना र उनीहरुको प्रस्ताव तथा समर्थकहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो ।
कांग्रेसले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका बागी उम्मेदवार घाचोक निवासी वेलबहादुर गुरुङ र उनका प्रचारप्रसार समितिका संयोजक मिनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ ‘राजु’लाई कारबाही गरेको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नंम्बर ७ का वडाध्यक्षका बागी उम्मेदवार लुम्ले निवासी प्रेमबहादुर गुरुङ तथा उनका प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङलाई पनि कारबाही गरिएको शर्माले बताए ।
सभापति शर्माले पार्टीको केन्द्रीय परिपत्र अनुसार नै चुनावमा घात/अन्र्तघात गर्नेलाई कारबाही गरिएको बताए । उनले पार्टीलाई प्रत्यक्ष देखिने गरी हराउने भूमिका खेल्ने जो कसैलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
Related