कुन कुन नदीमा बाढीको खतरा ?

409

काठमाडौं – पानी परिरहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । सोमबार बिहानसम्म नै बाणगंगा, तिनाउ, डुण्डुवा, मोहना, मछेली लगायतका नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो ।

यस्तै कोशी, बाग्मती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकालीमा पानीको सतह बढ्ने अनुमान छ । विशेषगरी पहाडी उपजलाधार र चुरे तथा आसपासबाट बहने स–साना नदीमा पनि पानीको सतह बढ्ने शाखाले जनाएको छ । शाखाका अनुसार पानीको सतह बढ्ने क्रममै रहेपनि बाढीका कारण क्षति हुने संभावना छैन । तर पनि सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

यस्तै लामो समयदेखि पहाडी र उच्च पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परेर जमिन कमजोर भएकाले भिरालो तथा कमजोर जमिनमा पहिरो र बाढी जान सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको हो । आइतबार दिनभर नै देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना छ ।

भारतको राजस्थान आसपासमा रहेको न्यूनचापीय क्षेत्रको असर तथा अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले सबैजसो ठाउँको मौसम बदली भएर पानी परेको मौसमविद सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार आइतबार पूर्व र मध्यको तुलनामा पश्चिममा धेरै पानी पर्नेछ ।

एक दुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना छ । पश्चिममा आइतबार दिनभरि नै मौसम नखुल्ने उहाँले जानकारी दिनुभयो ।