वायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल फाइनलमा

439

इन्ग्लिश क्लब लिभरपुल युरोपियन फुटबलको नयाँ सिजन सुरु अघि (प्रि सिजन) जर्मनीमा हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति  भएको खेलमा जर्मन च्याम्पियन वायर्न म्युनिखलाई ३ – ० ले पराजित गर्दै  लिभरपुल फाइनलमा पुगेको हो ।

म्युनिख स्थित एलिनाज स्टेडियममा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, मोहमद सलाह र ड्यानीएल स्टरिजले समान एक एक गोल गरे । अब उपाधिको लागि लिभरपुलले स्पेनिस क्लब एथलेटिको मड्रिडसँग खेल्ने छ । पराजित वायर्नले भने अब इटालियन क्लब नापोलीसँग खेल्ने छ ।

घरेलु टोलि वायर्नको बलियो टोलिविरुद्ध जित निकाल्न लिभरपुलले खेलको सातौं मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो ।  रोबर्टो फिर्मिनोको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।  खेलको ३४ औं मिनेटमा  मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ – ० ले अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८३ औं मिनेटमा ड्यानीएल स्टरिजले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए । तर, खेलको अन्त्यतिर घाइते भएपछि स्टरिजले मैदान छाडेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल लिभरपुलले ३ – ० ले जित्दै फाइनलमा स्थान बनायो ।