भूकम्पले सातो लिँदा पनि चेतेनन् सर्वसाधारण

1202

भक्तपुर । प्राविधिकहरुले भूकम्पले सातो लिँदा पनि घर तथा भवन बनाउन सर्वसाधारण नचेतेको दुःखेसो पोखेका छन् ।

उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिको निजी घर तथा भवनको पुनर्निर्माणको अवस्था अझ डरलाग्दो र विकराल रहेका बताएका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माणसम्बन्धी अन्तरसंवादमा सहभागी प्राविधिकहरुले भूकम्प भोगेका सर्वसाधारण सचेत नहुँदा गुणस्तरहीन तथा भूकम्पीय दृष्टिले असुरक्षित घर तथा भवनको बढोत्तरी भएको बताएका हुन् ।

कार्यक्रममा मेथडका प्रवन्ध निर्देशक इञ्जिनियर तुलसीलाल बासुकलाले भूकम्पपछि भइरहेको पुनर्निर्माणको अध्ययन गर्दा हाल भइरहेको पुनर्निर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मकताको अवस्था पहिला भन्दा पनि दयनीय भएको जानकारी दिनुभयो ।

‘भूकम्पपछि पुनर्निर्माणको नाउँमा माटो हिलोमाथि नै ढलान घर ठडिने क्रम बढ्दो छ’, उहाँले भन्नुभयो, ‘निर्माण कार्य चाँडै सकाउने नाउँमा घरधनीले आफ्नो जिन्दगीभरको कमाई र परिवार बस्ने घरको गुणस्तर माटोमै मिलाउँदै आएका छन् ।’ उहाँको गुनासो थियो ।

त्यस्तै अर्का इञ्जिनियर सृजना प्रजापतिले भूकम्पपछिको पुनर्निर्माणमा अत्यधिक प्राविधिक त्रुटिहरु ले प्रसय पाएको बताउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणमा घरको जगदेखि नै त्रुटि हुँदै आएको उहाँको भनाइ थियो ।
उहाँले आफू बस्ने घर बलियो बनाउन घरधनी नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण प्राविधिक बुँदाहरुबारे अन्तरसंवाद गरिएको थियो ।

जिल्लाका सञ्चारकर्मीहरुलाई लक्षित गरी आयोजित अन्तरसंवादमा प्राविधिकहरुले भूकम्पपछि भएको पुनर्निर्माणभित्र पनि प्राविधिक पक्षलाई महत्व दिएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले नगरपालिकाले नक्सापासअनुसार घर तथा भवन नबनाएका नगरवासीलाई कारबाही नगर्दा पनि असुरक्षित एवं गुणस्तरहीन घर तथा भवन बनिरहेको बताएका थिए ।

उनीहरुले नगरपालिकाका प्राविधिकहरुले पास भएको नक्साअनुसार घर निर्माण भए नभएसँगै बनिरहेको घरको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।