१०९ औं अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम
भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक कार्यकर्ताहरुले अन्तर्राष्टिय क्रान्तिकारी महिला नेतृहरुको जीवनी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालित ख्वप कलेज र ख्वप इञ्जिनियरि कलेजको संयुक्त आयोजनामा सम्पन्न १०९ औं अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले परीक्षा उत्तीर्ण गर्नको लागि मात्र नभई अध्ययन गर्नु गलत भएको बताउनुहुँदै भाषा र विभिन्न विषयवस्तुबारे जानकारी राख्न पुस्तकहरुको निरन्तर अध्ययन गर्नुपर्ने बताउनुभयो । महिलाहरुले राजनीतिक साहित्यको अध्ययनमा जोड दिंदा समाजलाई बुझ्न सजिलो हुने उहाँले बताउनुभयो ।
शिक्षिकशिक्षिकाहरु नेपाली भाषा र मातृ भाषामा दख्खल राख्नुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले समाजलाई अगाडि बढाउन र नयाँ पुस्तालाई सहयोग पुग्ने ढंगले व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनजीओ आईएनजीओले औपचारिकताको नाममा मात्र महिला दिवस मनाइरहेको बताउनुहुँदै पुँजीवादी व्यवस्थामा महिला दिवस मनाउने विभिन्न शैली हुने बताउनुभयो ।
धनी महिलाको निम्ति अवसर, स्वतन्त्रता र सबै खालको सुविधा भएको तर गरिब कामदार महिला सधैं पीडित भएको बताउनुहुँदै प्रमुख प्रजापतिले महिला मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्नु आवश्यक भएको बताउनुभयो ।
राज्य संरचनामा कामदार महिलाहरुको समानुपातिक प्रतिनिधित्व आवश्यक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले महिलाहरु राजनीतिक रुपमा अगाडि बढे समाजलाई अगाडि बढाउन सजिलो हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई अगाडि बढाउन शैक्षिक संस्थाले महवपूर्ण भूमिका खेल्ने बताउनुहुँदै शिक्षित र योग्य महिलाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने, सभ्य र सुसंस्कृत समाज स्थापना गर्न सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका प्राचार्य सुजन माकले क्रान्तिकारी नेतृ क्लारा जेट्किन र ख्वप कलेज अफ इञ्जिनियरिका प्राचार्य सुनिल दुवालले क्रान्तिकारी नेतृ रोजा लक्जमवर्गको येगादानबारे चर्चा गर्नुभयो ।
् कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि अन्तर्राष्टिय श्रमिक महिला दिवसबारे आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
श्रमिक महिला दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा शिक्षिका प्रभा प्रजापति र सुष्मा सापकोटाले आआफ्नो प्रस्तुतीकरण देखाउनुभएको थियो भने केशव तमखुले कविता वाचन गर्नुभएको थियो ।







































