‘इब्राहिमको घोडा र बिकिनीहरु’ लोकार्पित

1

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा लघुकथालेखक महेश प्रसाईंको नयाँ लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लोकार्पण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त सभापतिको आसनमा हुनहुन्थ्यो भने नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुखअतिथिको आसनमा । अनि कृतिकार महेश प्रसाई, प्रमुखवक्ता गोपी मैनाली, समालोचकहरू युवराज मैनाली, विनोद मन्जन, डा. हरिप्रसाद सिलवाल, खेमराज पोखरेल र राजेन सिवाकोटीहरुबाट ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लोकार्पण गरिएको हो ।
यसअघि मञ्चमा आसिन सबैलाई छाया प्रसाई र रोजीना जङ्गमले खादा अर्पण गरेका थिए ।
प्रमुखवक्ता गोपी मैनालीले लघुकथा लेखन, स्वदेशका कुरा, विदेशका कुरा, फ्रान्ज काफ्काका कुरा, वीपी कोइरालाको कर्नेलको घोडाको कुरा र साहित्यका अन्य कुरादेखि लिएर महेश प्रसाईंको ‘इब्राहिमको घोडा र बिकिनीहरू’ सम्मका कुराहरुको उदाहरण दिँदै लघुकथाको सविस्तार चर्चा गर्नुभएको थियो ।
प्रमुखवक्तापछि अन्य वक्ताहरू युवराज मैनाली, डा. विनोद मन्जन, डा. हरिप्रसाद सिलवाल, खेमराज पोखरेल र राजेन सिवाकोटीलगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
कृतिकार महेश प्रसाईंले बोल्दा “मैले पचास वर्ष भयो लेख्न थालेको । अब कसैले उठाएर म उठ्ने होइन, कसैले गिराएर म गिर्ने पनि होइन” भनी आफ्नो भावना व्यक्त गर्नुभएको थियो । पुतलीसडकको ग्रीनलीफ फुडमा आयोजित उक्त कार्यक्रममा जय पाटिलले एउटा गीत पनि गाउनुभएको थियो ।
स्वागत मन्तव्य डा. नम्रता पाण्डेबाट भएको थियो भने कार्यक्रम सञ्चालन यादव भट्टराईबाट गरिएको थियो ।
प्रमुखअतिथि गङ्गाप्रसाद उप्रेतीको मन्तव्यपछि सभापति रामप्रसाद पन्तले कार्यक्रम समापन गर्नुभएको थियो । करीब सय जना साहित्य अनुरागीहरू उपस्थित सो कार्यक्रममा समापन पश्चात् दिवाभोजको पनि व्यवस्था गरिएको थियो ।