भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उद्यमी–व्यवसायीलाई प्रदान गरिएका कर छुट, सेवा–सुविधा तथा करसम्बन्धी विविध विषयमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले सरकारले यस वर्ष प्रदान गरेका विभिन्न कर छुट तथा सहुलियतको सदुपयोग गर्न उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले विभिन्न कारणले करको दायरामा आउन नसकेका, करको दायरामा आए पनि विवरण दाखिला नगरेका वा कर नतिरेका करदाताका लागि सरकारले ल्याएको छुट सुविधा महत्वपूर्ण अवसर भएको बताउनुभयो।
कर अधिकृत कोइरालाले यस्ता छुट तथा सहुलियत आगामी वर्षदेखि नआउन पनि सक्ने भएकाले उपलब्ध अवसरको समयमै उपयोग गर्न र संघमा आबद्ध उद्यमी–व्यवसायीलाई समेत यसबारे जानकारी गराउन आग्रह गर्नुभयो।
उहाँले कार्यक्रममा चालु आर्थिक वर्षमा सरकारले प्रदान गरेका विभिन्न कर छुट तथा सहुलियतसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उद्योग–व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने नीति, नियम तथा कानुनी प्रावधानबारे जानकारी गराउनुभयो। साथै, प्रचलित कानुन तथा करसम्बन्धी व्यवस्था पालना नगर्दा हुन सक्ने कानुनी कारबाहीबारे समेत सहभागीलाई सचेत गराउनुभयो।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय भक्तपुरका नायब सुब्बा तुल्सीकुमार मल्लले मोबाइल तथा कम्प्युटरको प्रयोग गरी घरमै बसेर स्थायी लेखा नम्बर (प्यान) लिनेदेखि डे–१ तथा डे–२ कर तिर्ने प्रक्रियासम्मका विषयमा सहभागीलाई व्यावहारिक जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष तथा संघका पूर्वअध्यक्ष वीरेन्द्र जतीले कर तिर्नु उद्यमी–व्यवसायीको दायित्व भएको बताउँदै संघले समय–समयमा कर कार्यालयसँग सहकार्य गरी कर शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। विगतमा उद्यमी–व्यवसायीले भोगेका करसम्बन्धी समस्या समाधानका लागि संघले सम्बन्धित निकायसँग पहल गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो।
संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले हरेक वर्ष कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य कर कार्यालयबाट लागू भएका नयाँ नीति, सेवा–सुविधा, छुट तथा जरिवानासम्बन्धी व्यवस्थाबारे उद्यमी–व्यवसायीलाई जानकारी गराउनु रहेको बताउनुभयो। साथै, उद्यमी–व्यवसायीले भोगेका समस्या कर कार्यालयसमक्ष पुर्याउने माध्यमका रूपमा समेत कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ थियो।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कर प्रणालीमा आबद्ध भएपछि साना उद्यमीले नेपाल सरकारबाट उपलब्ध विभिन्न सेवा तथा सुविधा प्राप्त गर्न सक्ने भएकाले करलाई बोझका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले उद्यमी–व्यवसायीलाई समयमै कर तिर्न र कानुनी दायरामा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।
अन्तरक्रियाका क्रममा राजकुमार प्रजापति, मिना गोमान्जु, सोम तामाङ, राजेन्द्र नापित, लक्ष्मीप्रसाद बाटी, हिराकाजी मानन्धर, तारादेवी धन्छा, सत्यनारायण मानन्धर लगायत सहभागीले करसम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए। सहभागीका जिज्ञासाको जवाफ कर अधिकृत राजेन्द्र कोइराला र नायब सुब्बा तुल्सीप्रसाद मल्लले दिनुभएको थियो।
कार्यक्रममा संघका सचिव श्रीजना कक्षपतिले भक्तपुर घरेलु तथा साना उद्योग संघले राजस्व संकलनमा पुर्याउँदै आएको योगदान तथा उद्यमी–व्यवसायीका समस्या समाधानका लागि संघले गर्दै आएको पहलका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रमले स्थानीय उद्यमी–व्यवसायीलाई करसम्बन्धी पछिल्ला नीति, छुट तथा कानुनी व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिन र आफ्ना जिज्ञासा सम्बन्धित कर अधिकारीसमक्ष राख्न सहयोग पुगेको आयोजकले जनाएको छ।







































