भक्तपुर । नेपाल कानून व्यवसायी परिषद्, लयर्स एकेडेमी समितिको आयोजना तथा भक्तपुर जिल्ला अदालत बार इकाईको आतिथ्यतामा सञ्चालन हुने ‘फौजदारी कानूनसम्बन्धी आधारभूत तालिम’ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ।
२०८३ साल साउन २९ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने तालिम कानून व्यवसायीहरूलाई फौजदारी कानूनका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे थप दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको हो। तालिममा ४० जना कानून व्यवसायीको सहभागिता रहेको छ भने तालिमको अवधि ४४ घण्टाको रहेको छ।
तालिमको उद्घाटन कार्यक्रममा भक्तपुर बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामसुन्दर खाइतुले सभापतित्व गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको उपस्थिति रहेको थियो।
त्यसैगरी भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश नवराज दाहाल, नेपाल कानून व्यवसायी परिषद्का पार्षदहरू रविनारायण खनाल तथा लेखनाथ अधिकारी, परिषद्का सचिव श्रीराम दवाडी र श्रीराम खनाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कानून आयोगका पूर्व अध्यक्ष, नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष तथा भक्तपुर बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, कार्यक्रम संयोजक तथा नेपाल बार एशोसिएशनका उपाध्यक्ष अजयशंकर झा, केन्द्रीय सदस्य किरण न्यौपाने, वरिष्ठ अधिवक्ताहरू हरिप्रसाद निरौला र सानु सुवालको समेत उपस्थिति रहेको थियो।
त्यस्तै भक्तपुर बार एशोसिएशनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता हरि राउत, वरिष्ठ अधिवक्ता विवेकराज ढुङ्गेल, अधिवक्ता महेश श्रेष्ठ, अधिवक्ता शशिचन्द्र मिश्र, अधिवक्ता गजेन्द्रशंकर तिमिला, अधिवक्ता कमलराज थापा, अधिवक्ता देवेन्द्र श्रेष्ठ तथा निवर्तमान अध्यक्ष अधिवक्ता रविन्द्र प्रधानलगायत कानून व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी अतिथि तथा कानून व्यवसायीहरूलाई भक्तपुर बार एशोसिएशनकी सहसचिव अधिवक्ता निर्मला सुवालले खादा लगाई स्वागत गर्नुभएको थियो।
तालिमअन्तर्गत फौजदारी कानूनका आधारभूत सिद्धान्त, मुद्दा दर्तादेखि न्यायिक प्रक्रियासम्मका विभिन्न चरण, प्रमाण तथा अनुसन्धान, अभियोजन, बहस–पैरवीलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइने जनाइएको छ।
कानून व्यवसायीको पेशागत क्षमता अभिवृद्धि गर्दै फौजदारी मुद्दाको प्रभावकारी बहस–पैरवी तथा न्याय सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको तालिमलाई कानून व्यवसायीहरूका लागि महत्वपूर्ण सिकाइको अवसरका रूपमा लिइएको छ।







































