जिरी । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिरी नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय भवन तथा भ्यु टावर एक कार्यक्रम बिच बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रीले जिरी नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
जिरी नगरपालिका निर्माण भएको उक्त संरचना हस्तान्तरणमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, बागमती प्रदेश वन तथा वातावरण मन्त्री भरत के.सी, प्रदेश सचिव दीपेन्द्र सुवेदी लगायत पर्यटन इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईँको उपस्थिति रहेको थियो । उहाँहरूले जिरीमा निर्माण भएको उक्त संरचनाहरू जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी प्रमुख प्रशासकीय प्रमुख राज कुमारी खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
निर्मित संरचनाहरूको हस्तान्तरण गर्दै संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशले गरेको लगानीको सदुपयोग हुन नसक्दा प्रदेश प्रति जनताको नकारात्मकता पैदा भएको बताउनुभएको थियो । उहाँले प्रदेशले विभिन्न क्षेत्रमा लगानी गरे पनि हाम्रो कमजोरीका कारण उक्त लगानीमा निर्माण भएका संरचनाहरूको सदुपयोग हुन नसक्दा लगानीको प्रतिफल पनि नआएको तथा उक्त संरचनाहरू भत्कने नासिने र मासिने अवस्थामा समेत पुगेको बताउँदै अव त्यस्तो नहुने समेत बताउनुभयो । उहाँले प्रदेशले निर्माण गरेका हरेक संरचाहरुलाई प्रयोगमा ल्याउन आफू दिन रात लागि परेको समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा वन तथा वातावरण मन्त्री भरत के.सीले प्रदेशले निर्माण गरेका विभिन्न संरचनाहरूको प्रयोगमा ल्याउन संस्कृति पर्यटन मन्त्रालयले गरेको थालनी सराहनीय भएको बताउँदै संरचना प्राप्त गरेको पालिकाले पनि यसको सदुपयोगमा ध्यान दिनु पर्ने बताउनुभएको थियो ।
यस्तै संरचना हस्तान्तरणलाई सम्बोधन गर्दै प्रदेश सचिव दीपेन्द्र सुवेदीले संरचना हस्तान्तरण सँगै उक्त संरचनामा वन तथा वातावरण मन्त्रालयले प्रदेश भरका साहित्यकारलाई भेला गराई उक्त भवनमा साहित्य सम्मेलन गर्दा जिरीको उक्त हल हस्तान्तरण अगाडी देखि नै प्रयोगमा आएको बताउनुभयो । यसले हाम्रा निर्मित संरचनाहरूबाट हामीले प्रतिफल लिन सकिने प्रस्ट भएको बताउँदै हस्तान्तरण गरिएका संरचनाको अधिकतम उपभोग गर्न नगरलाई उहाँले आग्रह समेत गर्नुभएको थियो ।








































