भक्तपुर । भक्तपुर अस्पतालमा बिरामीलाई आईसीयूमा भर्ना नगरिएको भन्दै बिहीबार अस्पताल परिसरमा तोडफोड भएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. त्रिभुवन चन्द्र झा का अनुसार उक्त घटनाका क्रममा अस्पतालका कर्मचारीमाथि हातपातसमेत भएको छ। घटनामा एक जना कर्मचारी घाइते भएको उहाँले जानकारी दिनुभयो।
तोडफोडका कारण अस्पतालको केही भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पताल प्रशासनले दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।







































