भक्तपुर । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको पूजा–आराधना गर्ने श्रद्धालुको भीड देशभरका शिवालयमा लाग्ने गर्दछ। भक्तपुरको साँगानजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विकटेश्वर महादेव पनि साउनको सोमबार दर्शन तथा पूजाआराधनाका लागि महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ।
विकटेश्वर महादेव मन्दिर भैसेपाटि साँगा बनेपा १३ काभ्रेमा रुद्गिरि पर्वतको उत्तर–पश्चिम तथा द्रोण पर्वतको दक्षिण काखमा, रुद्रावती नदीको तटमा अवस्थित विकटेश्वर महादेवलाई स्वयंभू शिवलिङ्ग मानिन्छ। धार्मिक मान्यताअनुसार यो शिवलिङ्ग कुनै मानवद्वारा स्थापना गरिएको नभई भगवान् शिव स्वयं प्रकट भएर स्थापित भएको हो।
यस क्षेत्रलाई पुष्पतीर्थका रूपमा समेत वर्णन गरिएको छ। धार्मिक ग्रन्थमा पुष्पतीर्थलाई अत्यन्त पवित्र र पुण्यदायक तीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ।
व्याधा विकटको तपस्या र विकटेश्वरको उत्पत्ति
स्कन्दपुराणको हिमवत्खण्डमा वर्णित कथाअनुसार प्राचीन समयमा विकट नामका एक व्याधा (सिकारी) सिकार गर्दै जीवनयापन गर्ने गर्दथे। उनी हिंस्रक स्वभावका थिए र जनावरको सिकार गरी जीवन धान्ने गर्थे।
एकपटक सिकारको खोजीमा पुष्पतीर्थ पुगेपछि त्यस पवित्र भूमिको प्रभावले उनको मनमा परिवर्तन आयो। उनले आफूले गर्दै आएको हिंसा र जीवहत्या गलत भएको महसुस गरे।
‘अर्काको हिंसामा लागेको मेरो जीवनलाई धिक्कार छ’ भन्ने भाव उत्पन्न भएपछि विकटले धनुष–बाण त्यागे। त्यसपछि एक ऋषिबाट मन्त्र तथा तपस्याको विधि सिकेर उनले त्यही स्थानमा बसेर भगवान् शिवको कठोर आराधना गर्न थाले।
धार्मिक कथाअनुसार विकटले बाह्र वर्षसम्म निरन्तर तपस्या गरे। उनको तपस्याबाट प्रसन्न भएर भगवान् शिव माघ कृष्ण तृतीयाका दिन लिङ्गरूपमा प्रकट हुनुभयो।
भगवान् शिवले विकटलाई वरदान दिँदै आफू प्रसन्न भएको र उनलाई आफ्नो प्रिय भक्तका रूपमा स्वीकार गरेको बताउनुभयो। साथै प्रमथगणको नायक बनेर सधैं आफ्नो समीपमा रहने वरदान दिनुभयो। त्यही अवसरमा शिवलिङ्ग विकटको नामबाट ‘विकटेश्वर’ नामले प्रसिद्ध हुने वरदानसमेत दिएको धार्मिक विश्वास छ।
हरिहर क्षेत्रका रूपमा पनि परिचित
विकटेश्वर महादेव रहेको पुष्पतीर्थको उत्तरतर्फ नदीपारि छिन्नमस्तक नारायणका रूपमा भगवान् विष्णु विराजमान रहेको धार्मिक मान्यता छ। एउटै क्षेत्रमा हरि अर्थात् विष्णु र हर अर्थात् शिवको उपस्थिति रहेकाले यस स्थानलाई हरिहर क्षेत्रसमेत भन्ने गरिएको पाइन्छ।
स्थानीय वृद्धहरूको भनाइअनुसार स्वस्थानी व्रतकथामा उल्लेख भएका नवराजलाई वरदान दिइएको हरिहर क्षेत्र यही स्थान हो।
पापमोचनदेखि मोक्षसम्मको धार्मिक विश्वास
विकटेश्वर महादेवको भक्तिपूर्वक आराधना गरेमा हिंसालगायतका पापबाट मुक्ति पाइने, दुःख–कष्ट हट्ने, ग्रहदशा शान्त हुने तथा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ। अन्ततः शिवभक्तिले मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहेको छ।
विशेषगरी साउन महिनाका सोमबार शिवालयमा पुगेर पूजा, जलार्पण तथा दर्शन गर्ने परम्परा भएकाले विकटेश्वर महादेवमा पनि भक्तजनको विशेष चहलपहल हुने गर्दछ।
प्रकृति, नदी, पर्वत र प्राचीन धार्मिक कथासँग जोडिएको विकटेश्वर महादेव क्षेत्र धार्मिक आस्था मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण स्थलका रूपमा रहेको छ।
मूलस्रोत : स्कन्दपुराण, हिमवत्खण्ड, अध्याय ९७









































व्याधा विकटको तपस्या र विकटेश्वरको उत्पत्ति
