सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १२ मा शुक्रबारे खेलमैदानको पूर्वाधार शुभारम्भ गरिएको छ । शुक्रबारे खेलमैदान निर्माण उपभोक्ता समितिकको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले उक्त खेल मैदानको धार्मिक विधि ‘पूर्वक शुभारम्भ गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस नगरमा खेलकुदको विकासका लागी नगरपालिकाले विशेष चासो दिएकोले सोहि अनुसार आवश्यक काम हुने बताए । उनले कार्यक्रमलाई थप सम्बोधन गर्दै खेलकुदले शारिरीक मानसिक तथा आपसी सद्भाब एकताको समेत विकास गर्ने भएकोले खेलकुदको क्षेत्रलाई कसैले सामान्य नसोच्न आग्रह गरे ।
उनले कार्यक्रमलाई थप सम्बोधन गर्दै यस खेल मैदानको स्तर उन्नतीका लागी नगरपालिको तर्फबाट रु १५ लाख तथा वडाबाट ५ लाखको लगानी गरिने तयारी भएकोले सोचे जस्तो विकास एकै चोटी हुन नसके पनि सुन्दरहरैँचामा कसैले विकास भएको छैन भनेर भन्ने ठाउँ नभएको बताए । उनले यस खेल मैदानमा सबै किसीमको खेलहरु खेल्न सकिने बताउंदै सार्वजनिक जग्गाको अतिक्रमण बढेकोले त्यसलाई केहि सिप नचले बल प्रयोग गरेर भएपनि रोक्ने चेतावनी दिदै नगरका ठुला तथा सार्वजनिक महत्वका सम्पतिलाई जोगाउंने पहिलो दायित्व सम्बन्धित समाजको त्यस पछि नपाको हुने उल्लेख गरे ।

खेल मैदानको शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङले बाटोघाटो ,शिक्षा, स्वास्थ्य खेलकुद तथा वातावरण लगायत विविध पक्षको सुधार गर्न सकियो भने मात्र विकास भएको ठहर हुने बताईन । उनले जनप्रतिनिलाई पनि समाज र जनताको साथ चाहिन्छ अनिमात्रै सोचे जस्तो विकास हुन सक्छ भन्दै घुमाउरो पारामा रोटी पाक्नका लागी बिड तातेर हुंदैन तावा पनि तात्नु पर्ने उल्लेख गरिन ।
कार्यक्रममा वडाध्यक्ष रोशनप्रसाद ढकालले यस खेल मैदानको स्तर उन्नतिका लागी आफुले जस्तो सुकै सहयोग गरेर समस्या संग समेत जुध्न तयार रहेको बताए । उनले सोचे जस्तो आर्कषक खेल मैदानलाई सबै मिलेर स्तर उन्नती गरि बनाउन सके नगरले खेलकुदमा एक फड्को मार्ने उल्लेख गदै यस खेल मैदानलाई सबै मिलेर व्यवस्थित बनाउंन जरुरी रहेको बताए । खेल मैदानको शुभारभ्भ कार्यक्रममा कोसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाई, राजनितिकर्मी ललितबहादुर श्रेष्ठ , अरुण सुन्दास स्थानिय अगुवा मोहनलाल श्रेष्ठ, खेल मैदान निर्माण समितिका अध्यक्ष टीकाप्रसाद सुवेदी ,सदस्य कुमार वयलकोटी लगायतले खेलक्षेत्र लगायत समसामयिक विषयवस्तुको बारेमा प्रकाश पारेका थिए ।
Purbeli TV











































