नेकपाका कार्यकर्ताले उपसचिवको गाडी नियन्त्रणमा लिए 

246

नेकपाका कार्यकर्ताले उपसचिवको गाडी नियन्त्रणमा लिए 

पोखरा । सार्वजनिक बिदाको दिन सरकारी गाडीमा पारिवारिक भ्रमणमा निस्किएका ईलाका प्रशासन कार्यालय लेखनाथका उपसचिव चित्राङ्गत बरालको गाडी नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । 

घटना शनिबार दिउँसो सवा ३ बजेको हो ।

मादी गाउँपालिका ५ सुनपँधेरीमा ग १ झ ३१५ नम्बरको सरकारी गाडी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटासहितको युवा टोलीले रोक्यो । गाडीभित्र उपसचिव बरालसहित ५ जना थिए । बरालले सुरुमा गाडीको पास भएको र अनुगमन गर्न हिँडेको बताए ।

कार्यकर्ताहरुले गाडीको पास देखाउन भनेपछि बराल गाडीबाट ओर्ले र खाली स्लिप भर्न थाले । त्यसपछि उनीहरुले फर्जी काम गरेको भन्दै गाडी नियन्त्रणमा लिएका हुन् ।

“म नै पास दिने व्यक्ति हो मलाई किन रोकेको भन्दै हुनुहुन्थ्यो, हामीले चाहिँ तपाईं आफैँ पास दिने मान्छे हो भने फर्जि काम किन गरेको त भन्ने प्रश्न गर्‍यौँ, तर उहाँले अर्कै कुराहरु गर्न थाल्नुभयो, दुर्घटना भएपनि म उद्धार गर्न जान्न भन्न थाल्नुभयो, अनि हामीले गाडी नियन्त्रणमा लिएका हौँ,” सापकोटाले भने ।

गाडी नियन्त्रणमा लिएको १ घण्टापछि प्रहरी पनि आइपुगेको थियो । करिब १ घण्टाजति गाडी नियन्त्रणमा लिएर छाडेको सापकोटाले बताए ।

यता, उपसचिव बरालले चाहिँ अनुगमनको लागि गएको र गाडी नियन्त्रणमा लिएर नराम्रो व्यवहार गरिएको आरोप लगाएका छन् । उनले क्षितिज सापकोटालाई नै देशको जिम्मा दिए हुन्छ भन्ने प्रतिक्रियासमेत दिए ।

“अब तपाईंहरुले के गर्दिनुस भने, पुलिस, प्रशासन केहीले देश चलाउन पर्दैन, अब शनिबार पनि… अब त्यो पुलिस प्रशासन ….. क्षितिज सापकोटा भन्नेजस्ताले देश चलाए हुन्छ, अब हामीले शान्तिसुरक्षा पनि हेर्न परेन, सेक्युरिटी नि हेर्न परेन, अनुसन्धान नि गर्न परेन, तालमा मान्छे डुबेर म¥यो भने नि उद्धार पनि हामीले गर्न परेन, केहि नगरे भो,” उनले भने ।

आफ्नो क्षेत्रको अनुगमन गर्नको लागि जाँदा पनि गाडी नियन्त्रणमा लिने हो भने अनुगमनमा नै नहिँडे भो नि भन्ने उनको प्रतिक्रिया छ ।

“अब म चाहिँ खास गरेर आज छुट्टीको दिन प्रहरी चौकीसौकी निरिक्षण गरौँ, जग्गाको विवाद, मुद्दा थिए त्यो नि हेरौँ, अलिअलि आईडिया नि हुन्छ, आफ्नो क्षेत्रको आइडिया नि हुन्छ, कहिलेकाहीँ कसैको गुनासो सुन्न पर्दा नि त्यो एरियाको बारेमा जानकारी भएको हुनपर्छ के,” उनले भने,  “अनि त्यही भएर यसो हेरौँ भनेर कालिकातिर गएको हो, अब मलाई चाहिँ सिडिओ सरको अधिकार प्रत्यायोजनमा नै यो एरियाको सेक्युरिटीको अनुगमन गर्ने हो, मैले त्यहाँ गएर डीएसपीलाई परिचालन गर्ने हो, अब सेक्युरिटीकै गाडी हिँड्न हुँदैन, भने नहिँड्ने अब के गर्ने त ?”

परिवार नै लिएर भ्रमणमा जानुभएको थियो रे भन्ने प्रश्नमा उनले सुरुमा जवाफ दिन आनाकानी गरे । २ पटक प्रश्न गरेपछि उनले अनकनाउँदै भने, “मेरो परिवार भन्नाले विष्णुकुमारी बराल भन्ने त्यहाँको कर्मचारी हो, त्यहाँको स्टाफ हो, मेरो परिवार पनि हो, अफिसको खरदार पनि हो ।”

यस्तै उनले सो क्षेत्रका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई समेत फोन गरेको सुनाए ।

“अब म त्यसरी हो, घुम्न …..क्यारे म अनुगमन गर्न हिँडेको हो, अफिसकै काममा हिँडेको छु, अब त्यसो हो भने ठिकै छ, अब त्यो मैले के सिडिओ साहेबलाई पनि जाहेर गरेँ, मैले हाम्रो क्षेत्र हेर्ने सभासद खगराज अधिकारी, दिपक कोइरालालाई नि फोन गरेको छु, मैले सबैलाई जानकारी गराएको छु, तर बीचचमा गएर उहाँ (क्षितिज सापकोटा) ले नराम्रो व्यवहार गर्नुभयो ।”

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रशासन, सुरक्षा निकायहरुको गाडी हिँडिरहन पर्ने हुँदा पास लिन नपर्ने बताए ।

“हामीलाई पास चाहिँदैन, हिँडिरहन पर्छ,” उनले भने ।
 

विशन क्षेत्री

Source link