Home समाचार बिस्काः जात्रा बोडेमा यो वर्ष २७ वर्षीय सुजनले जिब्रो छेड्ने
भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाई जिब्रो छेड्ने जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुर थिमिको बोडेमा मौलिक शैलीको जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदै आइरहेको छ ।
जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा रहेको छ । यही परम्परा अनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको हो ।
सुजन ९ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन । बुद्धकृष्णले पहिलो पटक २०६२ साल जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उहाँले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । २०६६ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाउनुभयो ।
जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । २०७३ सालमा जुजुभाईका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो ।
जात्राको हालसम्म प्राप्त प्रमाण अनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ । विसं १९६९ देखि १९९० सम्म हर्क नरसिंह बास श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन पटक, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्याङ्क छ ।
त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्र सेन द्यो श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास रहेको छ ।
Related