भक्तपुर । सूचना विभागको आयोजनामा भक्तपुरमा नेपाली पत्रकारितामा समावेशी विषयमा तीनदिने अभिमुखीकरण शुक्रबार देखि सुरु भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयोजनमा भएको कार्यक्रममा भक्तपुरमा क्रियाशील ४० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संविधानले नै सबै क्षेत्रमा समावेशीलाई जोड दिइसकेकाले सञ्चार क्षेत्रलाई पनि समावेशी बनाउन सरकार लागिपरेको बताए ।
समावेशीताकै आधारमा विभागले सातै प्रदेशमा पत्रकारहरुलाई तालिम उपलब्ध गराउदै आएको उनको भनाइ थियो ।
‘सञ्चार क्षेत्रको व्यवसायिक विकासको लागि विभागले यसै वर्षदेखि विभिन्न सात समूहमा स्नातक तहमा पत्रकारिता अध्ययन गर्नेहरुलाई छात्रावृत्तिको व्यवस्था सुरु गरेको छ’, महानिर्देशक राईले भने, ‘आम सञ्चार नीतिमा टेकेर पत्रकारिता तालिमको पाठ्यक्रम पनि निर्माण गरिरहेका छौं ।’
कार्यक्रममा प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार सुरेश आचार्यले नेपालमा समावेशी नयाँ भए पनि सञ्चार क्षेत्रमा समावेशी अहिलेको आवश्यकता भएकोमा जोड दिए ।
‘समावेशीको आधारमा सञ्चारमाध्यमका डेस्क बन्नैपर्छ’, उनले भने, ‘समाचारका विषयवस्तुमात्रै होइन नीति निर्माण तहमा पनि समावेशी हुनुपर्छ ।’
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चारमाध्यममा विषयगत, सहभागिता र भाषागत समावेशी हुनुपर्नेमा दबूले स्थापनाकालदेखि जोड दिँदै आएको धारणा राखे ।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिव गजुरधन राईले मुलुक संघीयतामा गएजसरी सञ्चारमाध्यमले पनि जातजाति, भाषाभाषी र क्षेत्रलाई समावेशी रुपमा स्थान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजू, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले सञ्चारमाध्यम समावेशी हुन सके देशका सम्पूर्ण तह र क्षेत्रसमेत समावेशी हुने धारणा राखे ।
अभिमुखीकरणमा वरिष्ठ पत्रकार सुरेश आचार्यको नेतृत्वमा डा. विजय मिश्र, डा. राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले कक्षा लिनेछन् ।







































