काठमाडौं । बेबिलोन नेशनल स्कुल शान्तिनगरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा आयोजक बेबिलोन स्कुलका शिक्षक, कर्मचारीका साथै स्थानीय क्लवका खेलाडी, जागरुक महिला समूहका सदस्य तथा सर्वसाधारण गरि ७६ जनाले रक्तदान गरेका छन् ।
जागरुक महिला समुह, समावेशी नारी मञ्च नेपाल शान्तिनगर, लायन्स क्लव अफ जागृति, मानव कल्याण वचत तथा ऋण सहकारी संस्था शान्तिनगर, काठमाडौं महानगरपालिका ३१ नं वडा कार्यालय, भिमसेनगोला तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको सहकार्यमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदाताहरुलाई विद्यालयका निर्देशक देवीभक्त राई, प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रिता राई तथा निर्देशक प्रकाश आचार्यले प्रमाणपत्र दिएका थिए ।

राजधानीका अस्पतालहरुमा रगतको अभाव देखिएपछि विद्यालयले ‘सामाजिक उत्तरदायीत्व कार्यक्रम’ अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु राइले बताए ।
विद्यालयले आगामी चैत १७ गते शनिबार विद्यालय हातामा निःशुल्क आँखा जाँच शिवीरको साथै चैत २४ गते शनिबार वृहत निःशुल्क क्यान्सर परिक्षण शिवीर सञ्चालन गर्न लागेको विद्यालयको इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) कोअर्डिनेटर अनिता सिग्देलले जानकारी दिएकी छिन् ।








































