Home समाचार मानव अधिकारवादीको निश्कर्ष : लोकतन्त्र लुटतन्त्रमा परिणत

भक्तपुर । मानव अधिकारवादीहरुले लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुर शाखाले बुधबार भक्तपुरमा गरेको ‘परिवर्तित राजनीतिक अवस्था र मानवअधिकार विषयक विचार गोष्ठीमा सहभागी मानवअधिकारकर्मीहरुले जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् ।
भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलमा भएको सो विचार गोष्ठीमा प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष भवानीप्रसाद खरेलले दुईतिहाइको सरकार बने पनि त्यसको अनुभूत जनताले गर्न नपाएको बताउँदै लोकतन्त्रको नाममा लुटतन्त्र चलेको बताए ।
उनले दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको दलका नेताहरुले आप्mना आसेपासे, नातागोता, कार्यकर्ताहरुलाई मात्र सेवा सुविधा दिने ठाउँमा अवसर दिँदा आम जनता भने निराश भएको उल्लेख गर्दै मानवअधिकारको प्रत्याभूत गर्ने तवरबाट सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
‘दुईतिहाईको सरकारले मानवअधिकार रक्षा हुने गरी काम गर्नुपर्छ, अहिले पनि जनताहरु त्रसित वातावरणमा दैनिकी गुजारी रहेका छन्’ प्रतिष्ठान अध्यक्ष खरेलले भने, ‘ सरकारको शैली हेर्दा कुनै पनि बेला स्वतन्त्रता र अधिकार खोसिने हो, थाहा छैन, तसर्थ मावनअधिकारकर्मीहरु सदा सतर्क रहन जरुरी छ।’
उनले सरकार पक्षको मात्र नभएर प्रतिपक्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुको चरित्र र आनीबानीप्रति मानवअधिकारकर्मीहरुले खबरदारी गरिरहनुपर्ने आवश्यता औंल्याउँदै लोकतन्त्र, समानता, अधिकार कटौतीका विषयमा हुने आक्रमण विरुद्ध लड्न तयार हुनुपर्ने पनि बताए ।
अधिकारकर्मीहरुले मर्यादामा रहेर, सीमामा रहेर खबरदारी गरिरहनु पर्छ, देश, जनता माटो र स्वाधिनताको पक्षमा स्वतन्त्रता र अधिकारका लागि लडिरहनु पर्ने बताउँदै अध्यक्ष खरेलले दुई तिहाईको सरकार भएर पनि दण्डहीनता, बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार बढ्नु विडम्बनाको विषय भएको चर्चा गरे ।
सोही कार्यक्रममा राष्ट्रिय उपमहासचिव घमान तामाङले सरकारकै गलत नीति र कार्यक्रमले गर्दा संघीयताविरोधी तत्व मौलाएको आरोप लगाउँदै संघीयताविरोधी तत्वलाई कारबाही गर्ने नाममा निहत्था जनताले पाउने दुःखप्रति सरकार सजग हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका केन्द्रीय पार्षद् राधाकृष्ण भण्डारी, ललितपुर जिल्लाका कोषाध्यष अणु जोशी, भक्तपुर जिल्ला सदस्य शिवहरि खनाल, जिल्ला अध्यक्ष राजेन्द्र कोजूलगायतले निर्वाचित सरकारले समेत जनताको मनोबल बढ्ने कार्यक्रम गर्न नसक्दा असन्तुष्टि बढिरहेको बताए ।
Related