​लालिगामा बार्सिलोना र रियल मड्रिडको विजयी सुरुवात, रियल शिर्षस्थानमा

631

लालिगा २०१७/१८ सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना र  रियल मड्रिडले विजयी सुरुवात गरेका छन् । नेइमारले छोडेपछि बार्सिलोनाको खेल बिग्रिएको भन्ने आरोप लागिरहेको बेला आफ्ना अर्का स्टार खेलाडी लुइस स्वारेज बिना उत्रिएको बार्सिलोनाले रियल बेटिससँग २–०को सहज जित निकालेको हो ।

खेलको ३६ औ मिनेटमा बार्सिलोनाका खेलाडी डेउलोफेउले दिएको क्रसलाई लियोनल मेसीले फाइनल टच दिए पनि रियल बेटिसका डिफेन्डर एलिन टोस्काको खुट्टामा लागेर पहिलो गोल हुन पुग्यो । त्यस्तै खेलको ३९ औं मिनेटमा सर्जी रोबर्टाेले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए ।

खेल सुरुहुनुभन्दा पहिले बार्सिलोनाका खेलाडीले ‘हामी सबै बार्सिलोना हौँ’ भन्दै बार्सिलोना आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

त्यस्तै आइतबार नै भएको अर्काे खेलमा रियल मड्रिडले विजयी सुरुवात गर्दै अंकतालिकाको शिर्षस्थानमा पुगेको छ । स्टार खेलाडी रोनाल्डोबिना उत्रिएको रियलले डेपोर्टिभोलाई ३–० ले हराएको हो । रियलका लागि गारेथ बेल, कासिमिरो र टोनी क्रुसले १÷१ गोल गरेका थिए । बार्सिलोना र रियलको समान ३ अंक भए पनि गोल अन्तरले रियल शिर्षस्थानमा छ ।

त्यस्तै अाइतबार नै भएका अन्य खेलमा रियल सोसाइडाड, लेगानेस र भ्यालेन्सियाले पनि विजयी सुरुवात गरेका छन् ।