रियल म्याड्रिड र बार्साको सुखद सुरुआत

272

बार्सिलोना: स्पेनिस ला लिगा फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाले नयाँ सिजनको लिगमा पनि सुखद सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा साबिक विजेता रियलले डेपोर्टिभो ला कोरुनालाई उसैको मैदानमा ३-० गोलले हरायो भने अर्को खेलमा साबिक उपविजेता बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि २-० गोलको जित हासिल गर्यो।

स्पेनिस सुपर कपको बार्सिलोनाविरुद्घको खेलमा दोस्रो पहेँलो कार्ड पाएपछि उक्त निर्णयप्रति असहमति जनाउँदै रेफ्रीलाई धकेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध भोगिरहेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा ओर्लिएको रियलका लागि गारेथ बेलले उत्कृष्ट प्रदर्शन गरे। खेल सुरु भएको २०औं मिनेटमै बेलले टोलीका लागि पहिलो गोल गरेका थिए।

यसैगरी २७औं मिनेटमा कासेमिरोले रियलको अग्रतालाई दोब्बर बनाएका थिए । युरोपियन च्याम्पियनसमेत रहेको रियलका लागि तेस्रो गोल भने ६२औं मिनेटमा टोनी क्रुजले गरेका थिए।

निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि ला कोरुनाका फ्लोरिन एन्डोनले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको अन्तिम समयमा रियलका अनुभवी खेलाडी सर्जियो रामोस दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसअघि उनले ५३औं मिनेटमा पहिलो कार्ड पाएका थिए।

घरेलु मैदानमा ओर्लिएको बार्सिलोनाले भने आत्मघाती गोलबाट खेलमा अग्रता लिएको थियो । खेल सुरु भएको ३६औं मिनेटमा रियल बेट्सिका एलिन टोस्काबाट आत्मघाती गोल भएको थियो। त्यसको तीन मिनेटपछि नै बार्सिलोनाका लागि सर्जी रोबर्टोले दोस्रो गोल गरेका थिए। बार्सिलोना आफ्ना प्रभावशाली खेलाडीहरूको अनुपस्थितिमै मैदानमा ओर्लिएको थियो।

बार्सिलोनाका ब्राजिलियन स्टार नेमार यो सिजन कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भए। यसैगरी अर्का अनुभवी खेलाडी लुइस स्वारेज पनि घाइते भएका कारण टोलीमा थिएनन्। जारी सिजनको लिगमा हालसम्म पाँच टोलीले मात्र आफ्नो पहिलो खेलमा सफलता हात पार्न सकेका छन्। पहिलो खेलमै विजयी हुँदै समान तीन/तीन अंक जोडे पनि गोलअन्तरका आधारमा रियल पहिलो, बार्सिलोना दोस्रो, रियल सोसिएडाड तेस्रो, लेगानेस चौथो र भ्यालेन्सिया पाँचौं स्थानमा छन्।