स्पनेको शानदार जित, लिचेस्टाइनलाई ८–० ले हरायो

616

रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले लिचेस्टाइनलाई ८–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्‍यो । स्पेनको जितमा अल्भारो मोराटा र लागो एस्पासले दुई दुई तथा सर्जियो रामोस, इस्को र डेविड सिल्भाले एक एक गोल गरे । लिचेस्टाइनका गोप्पेलले खेलको अन्तिममा आत्मघाती गोल गरे । रामोसले तेस्रो मिनेटमा नै गोल गर्दै स्पेनलाई अग्रता दिलाए । १५ औं मिनेटमा मोराटा तथा १६ औं मिनेटमा इस्कोले गोल गरेपछि स्पेनको अग्रता ३–० मा पुग्यो । ३९ औं मिनेटम सिल्भाले गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाए । ५१ औं मिनेटमा एस्पास तथा ५४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ६–० को अग्रता लियो । ६३ औं मिनेटमा एस्पासले व्यक्तिगत दोस्रो गोल गरे भने ८९ औं मिनेटमा लिचेस्टाइनका गोप्पेल आत्मघाती गोल गरेपछि स्पेन ८–० ले विजयी भयो । यसअघि शनिबार राति भएको खेलमा इटालीलाई ३–० ले पराजित गरेकाे स्पेनले लिचेस्टाइनसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । राति नै भएको खेलम इटालीले इजरायललाई १–० ले हरायो भने मेसेडोनिया र अल्बानियले १–१ को बराबरी खेले । जितपछि स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने १९ अंकसहित इटाली दोस्रो स्थानमा छ ।