ब्राजिलियन लिजेण्ड काकाले लिए फुटबलबाट सन्यास

372

एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड रिकार्डो काकाले फुटबलबाट सन्यास लिएका छन् । प्लेमेकर काकाले आइतबार राति सोसियल साइट ट्वीटरबाट सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

ब्राजिलियन विश्वकप विजेता सदस्य काकाले सन्यासको घोषणा गर्दै अब आफु अर्को यात्राको लागि तयार रहेको बताएका छन् । ३५ बर्षिय काकाले फुटबलबाट सन्यासको घोषणा गर्दै ट्वीटरमा लेखेका छन् , “बुबा, यो मैले कहिल्यै कल्पना गरेभन्दा धेरै बढी थियो । धन्यवाद, अब म अर्को यात्राको लागि तयार छु ।”

विश्वकप विजेता टोलीका सदस्य काकाले ब्राजिलबाट ९२ खेल खेल्दै २९ गोल गरेका थिए । ब्राजिलले दक्षिण कोरिया र जापानमा भएको सन् २००२ को विश्वकप जित्दा काका टोलीका मुख्य सदस्य रहेका थिए ।  यस्तै ब्रजिलले दुई पटक अन्तरमहादेशीय कप फुटबलको उपाधि जित्दा काका टोलीमा रहेका थिए ।

ब्राजिलियन क्लब साउ पोउलोबाट क्लब फुटबल सुरु गरेका काकाले इटालियन क्लब एसी मिलान र स्पेनिस क्लब रियल मड्रिडबाट समेत खेलेका छन् । सन् २००३ मा साउ पोउलोबाट एसी मिलान आएका काकाले २००९ बाट २०१३ सम्म रियल मड्रिडबाट खेलेका थिए । त्यसपछि काका पुन एसी मिलान फर्किएका थिए ।

अट्याकिङ मिडफिल्डर काका बालोन डी ओर विजेता खेलाडी हुन् । काकाले सन् २००७ यो अवार्ड जितेका थिए । त्यसयता क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले यो अवार्ड जित्दै आएका छन् । काकाले आफ्नो करियरमा च्याम्पियन्स लिग, यूएफा सुपर कप, फिफा क्लब विश्वकप, इटालियन सिरी ए, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप जितेका छन् ।

काका पछिल्लो समय अमेरिकाको उच्च डिभिजन लिग मेजर सकर लिगको ओर्लान्डो सिटिबाट ब्यबसायीक फुटबल खेल्दै आएका थिए । काका सन् २०१४ मा इटालियन क्लब एसी मिलानबाट ओर्लान्डो सिटि गएका थिए ।