भक्तपुर । आयोजक सैनिक र राजन मेमोरियल स्कुल भक्तपुरमा जारी एघारौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको आयोजनामा जारी प्रतियोगिताअतर्गत शुक्रबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा ज्ञान निकेतनलाई नौ विकेटले हराउँदै सैनिक फाइनलमा पुग्न सफल भएको हो ।
टस जितेर व्याटिङ गरेको ज्ञान निकेतनले १०.५ ओभरमा अलआउट हुँदै जम्मा २८ रनमात्रै बनाउन सक्यो । ज्ञान निकेतनका व्याट्सम्यान चल्न नसक्दा सैनिकका बलरहरुले सस्तैमा आउट गरेका थिए ।
बलिङतर्फ सैनिकका क्षितिजजंग शाही एक्लैले चार विकेट झारे ।त्यसको लागि पाँच रनमात्रै खर्चेका उनी उक्त खेलका म्यान अफ दि म्याच घोषित भए । त्यस्तै क्रिश कार्की र सृजन गुरुङले दुईदुई विकेट लिए ।
जवाफी व्याटिङमा आएको सैनिकले ३.२ ओभरमै एकमात्रै विकेटको क्षतिमा २९ रनको लक्ष्य पूरा गरेको थियो । उसलाई निश्चल तामाङले अविजित १३ रन जोडे ।
बलिङतर्फ ज्ञान निकेतनका विकास रावलले एक विकेट लिएका थिए ।
आयोजक सैनिकले सुपर लिगको पहिलो खेलमा जेम्सलाई हराएको थियो ।
त्यस्तै शुक्रबार नै भएको अर्को समूहको अन्तिम सुपर लिग खेलमा राजन मेमोरियलले डीएभीलाई नौ विकेटले नै पन्छाएको छ ।
टस जितेर व्याटिङ रोजेको डीएभीले १७.३ मा अलआउट हुँदै ५३ रनमात्रै बनाउन सक्यो । उसको लागि रोनक गोयलले ३० रन जोडे ।
बलिङतर्फ राजन मेमोरियलका रोशन अधिकारी र अनुप नेपालले दुईदुई विकेट लिए । त्यस्तै उज्ज्वल नेपालले एक विकेट लिए ।
जवाफी व्याटिङमा आएको राजन मेमोरियलले ७.२ ओभरमा मात्र एक विकेटको क्षतिमा ५४ रनको लक्ष्य भेटेको थियो । उसको लागि सुसन कार्कीले अविजित रहँदै ३३ रन बनाए । २२ बलको सामना गरेर एक छक्का र ६ चौका प्रहार गरेका उनी उक्त खेलका म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै अनुप नेपालले अविजित रहँदै २० रनको योगदान गरे । उनले दुई चौकासमेत हाने ।
आयोजक सैनिक आवासीय महाविद्यालयका स्पोर्ट इन्चार्ज रञ्जित राणाका अनुसार प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण आइतबार हुनेछ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम हुने उनले जानकारी दिए ।