विश्वकप क्रिकेट छनोटः युएइलाई हराएको नेपालले अब हङकङसँग खेल्ने

306

काठमाडौं । विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले पहिलो अभ्यास खेलमा हिजो युएईलाई ५ विकेटले हराएको छ ।

१ सय ७२ रनको लक्ष्य पाएको नेपालले २८ ओभर २ बलमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो ।

नेपालका लागि शरद भेषावकरले अविजित ४१ रन जोड्दा विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनकै योगदान दिए । कप्तान पारस खडकाले २८ रन जोड्दा आरिफ शेखले २३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले २९ ओभरमा घटाईएको खेलमा सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

युएईका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२ रन, अदनान मुफ्तीले ३७ रन तथा गुलाम साबेरले ३२ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका ललित भण्डारीले चार विकेट लिंदा करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट झारे ।

नेपालले दोस्रो अभ्यास खेलमा भोलि हङकङको सामना गर्नेछ । जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन ।

जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् । छनौट प्रतियोगिताको समुह चरणमा नेपालले अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँग खेल्नेछ ।