कँहि नभएको जात्रा नेपाल कोरिया मैत्री अस्पतालमा

450

बलराम प्यासी
काठमाडौं ।
नेपाली समाजमा एउटा उखान छ, ‘कँहि नभएको जात्रा हाँडीगाउँमा’ भन्ने । वास्तवमै त्यो उखान अहिले मध्यपुर ठिमी नगरपालिकाको मेचडाँडामा रहेको नेपाल कोरिया मैत्री अस्पतालमा लागु हुन थालेको छ ।
पाटन अस्पतालमा कार्यरत डा.ज्ञानकृष्ण कायस्थलाई मध्यपुर ठिमी नगरपालिकाले कुनै अस्पतालमा नभएको नियम बनाएर गतमहिना अस्पतालको ‘स्वय्मसेवक (वेतलवी) कार्यकारी निर्देशक’ नियुक्त गरेपछि उनको मौखिक आदेशमा अस्पतालको आकस्मिक कक्षमा ड्युटीवाल नर्सले नै विरामीको उपचार खर्चको वील काट्नुपर्ने वाध्यता भएको हो ।
यसअघि आकस्मिक कक्षमा काम गर्ने नर्सले विरामीको उपचारमा डाक्टरलाई सघाउने गर्थे । तर गत महिनादेखि नर्सको जिम्मेवारी थप भएको हो । ‘कँहि नभएको जात्रा यही हो’ अस्पतालका एक कर्मचारीले भने ।अहिले ती नर्सलाई विरामीको औषधि उपचारको मात्रै नभई वील काट्ने र विरामीसंग आकस्मिक उपचार शुल्क उठाउने जिम्मेवारी पनि थपिएको छ ।
चौबिसैघण्टा आकस्मिक सेवा दिँदै आएको ५० शैय्याको सो अस्पतालको एमर्जेन्सी कक्षमा मात्रै नभई अब साँझ ६ बजेदेखि विहान ८ बजेसम्म उपचारको लागि आउने विरामीले एक्सरे गर्नुपरे, सोही कक्षमा, रगत दिसापिसाव जाँच्नुपरे या प्रयोगशाला सम्वन्धी कुनै परीक्षण गर्नुपरे, सम्वन्धित कक्षमै वील देखाएर पैसा तिर्नुपर्ने नयाँ तर मौखिक नियम आएको छ ।
यसअघि चौविसैघण्टा खुल्ला रहने नगद काउण्टरका कर्मचारीलाई नवनियुक्त स्वयम्सेवक कार्यकारी निर्देशक डा.कायस्थले हटाएपछि एमर्जेन्सी कक्षमा काम गर्ने नर्सदेखि एक्सरे र प्रयोगशालामा काम गर्ने प्राविधिक कर्मचारीको नयाँ जिम्मेवारी थपिएको हो ।
त्यतिमात्रै नभई राजनैतिक नियुक्तिबाट सो अस्पतालमा प्रवेश गरेका डा. कायस्थले मनोमानी ढंगले अस्पतालको आयस्रोत भन्दा बढी चिकित्सक, नर्स र ल्याव असिस्टेण्ट थपेको अस्पतालको कर्मचारी युनियनले आरोप लगाएको छ ।
अस्पतालमा १५ वर्षदेखि करारमा काम गर्दै आएका नर्स, ल्याव असिस्टेण्ट तथा प्राविधिक र प्रशसनिक कर्मचारीलाई हतोत्साही गर्दै उनीहरुको ठाउँमा नयाँ नयाँ कर्मचारी नियुक्त गरेकोले पुराना कर्मचारीको मनोवल गिर्न थालेको अस्पताल कर्मचारी युनियनले आरोप लगाएको छ ।
स्वयमसेवक कार्यकारी निर्देशक डा.कायस्थको मौखिक निर्देशनमा गत महिना अस्पतालले कुनै प्रकृया नपुरयाई ३ जना चिकित्सक, १० जना नर्स र ४ जना ल्याव टेक्निसियन नियुक्त गरेको थियो ।
पछिल्लो समय अस्पतालको लागि कर्मचारी नियुक्ति गर्दा बन्नुपर्ने पदपुर्ति समिति नबनाई कर्मचारी नियुक्त गरिएको कुरा अस्पतालका मेडिकल निर्देशक डा. दिपेन्द्रकमार रौशनले स्विकारे ।
यसअघि अस्पतालमा कर्मचारी नियुक्ति गर्दा पदपुर्ति समितिका सदस्यहरु विज्ञ चिकित्सक, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, मध्यपुर ठिमी नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि हहुनुपर्ने प्रावधान थियो । सो नियुक्तिमा आधाजस्तो निकायका प्रतिनिधि मात्रै उपस्थिति भएको पनि डा.रौशनले स्विकारे ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत मध्यपुर ठिमी नगरपालिकाद्धारा सञ्चालित सो अस्पताल सञ्चालक समितिको अध्यक्ष सोही नगरपालिकाका नगरप्रमुख रहने व्यवस्था अनुरुप पछिल्लो समयमा अस्पतालमा उपचारको लागि आउने विरामीलाई सुलभ र सरल उपचार सेवा दिनुपर्नेमा उल्टै त्यहाँ कार्यरत कर्मचारीलाई हतोत्साह गर्ने काम गरेको बताइन्छ ।
सो अस्पतालको लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वार्षिक १ करोड रुपैया सञ्चालन खर्च दिने गरेतापनि नगरपालिकाले अनावश्यक हस्तक्षेप गर्दै अस्पतालको लागि आवश्यक पर्ने उपकरणको खरीददेखि अस्पताल परिसरमा ढुंगा विच्छयाएको समेत सबै खर्च आफैंले कटाएर मात्रै बाँकी रकम दिने गरेको अस्पतालले जनाएको छ ।