भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ मेन डोजोले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यकाव्यापी सितेरियो कराते प्रतियोगिताको उपाधि उचालेको छ ।
विद्या आर्जन सितेरियो कराते शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा मेन डोजोले ६ स्वर्ण, ५ रजत र ५ वटै कास्य पदक जित्दै उपाधि उचालेको हो ।
त्यस्तै ४ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको काभ्रे एकेडेमी दोस्रो र भक्तपुर नगरपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पद जितेर तेस्रो स्थानमा पर्न सफल भए ।
च्याम्पियन भएको मेन डोजोको लागि पुरुषतर्फ ३० केजीमा सुवास परियार, ४० केजीमा सुन्दर तामाङ, ४५ केजीमा देनिस सांगाछें र ५५ केजीमा सुनिल लामाले पहिलो भई स्वर्ण पदक जिते । त्यस्तै पुरुष एकल कातामा प्रथम भई डेनिस सांगाछेंले व्यक्तिगत रुपमा दुइटा स्वर्ण पदक जिते ।
महिलातर्फ ४० केजी तौल समूहमा मेन डोजोका पूर्णिमा रानामगरले मात्रै स्वर्ण पदक जितिन् ।
दोस्रो भएको काभ्रे एकेडेमीको लागि पुरुषतर्फ ५० केजी तौल समूहमा साजन मोक्तान पहिलो भए । महिलातर्फ ४५ केजीमा ईसा श्रेष्ठ र खुला तौल समूहमा धनमाया लामाले स्वर्ण पदक जित्दा महिला एकल कातामा बेली लामाले प्रथम भइन् ।
तेस्रो भएको भक्तपुर नगरपालिका टीमको लागि महिला ५५ केजी तौलमा तारादेवी तामाङ र ३५ केजीमा शशिका चाम्लिङले स्वर्ण पदक जिते । त्यस्तै पुरुषतर्फ २० केजीमा लक्की सुवालले भक्तपुर नपाको लागि तेस्रो स्वर्ण पदक जिते ।
काभ्रेसहित उपत्यकाका तीन जिल्लाका करिब ३०० खेलाडी सहभागी भएको प्रतियोगितामा भक्तपुरकै गोजुरियाले तीन, काठमाडौंको केन्द्रीय डोजोले दुई, काठमाडौंकै क्यामेलिया डोजो, ललितपुरको लुभु डोजो र भक्तपुरको थिमी डोजोले एकएक स्वर्ण पदक जिते ।
सितेरियो करातेतर्फ क्यामेलियाका आयुषा तामाङ सर्वोत्कृष्ट महिला खेलाडी हुँदा काभ्रे एकेडेमीका सजन मोक्तान सर्वोत्कृष्ट पुरुष खेलाडी बन्न सफल भए ।
त्यस्तै किक बक्सिङतर्फ भक्तपुर मेन डोजोका पवनकुमार शाह र सुस्मिता शाही क्रमशः सर्वोत्कृष्ट पुरुष र महिला किक बक्सिङ खेलाडी घोषित हुन सफल भए ।
पवनकुमारले खुला तौलतर्फ तेजबहादुर थापालाई पछार्दै स्वर्ण पदक जितेका थिए । त्यस्तै सुस्मिताले ५० केजी तौल समूहमा रुक्साना दुवाललाई हराइन् ।
महिला खुलातर्फ भने तारा तामाङले रविना तामाङलाई हराउँदै स्वर्ण जितिन् । त्यस्तै महिला ४५ केजीमा अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । पुरुषतर्फ ४५ केजीमा सुरेश राई र ५० केजीमा सुमन नेपाल पहिलो भएका खेल ब्यवस्थापक प्रेम थापामगरले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता खेलाडी तथा टीमलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा अन्तराष्ट्रिय पदक विजेता मन्टेकाजी श्रेष्ठ र आर्यन रञ्जीतलाई आयोजकले सम्मान समेत गरेको थियो ।
प्रतियोगिताका उद्घाटन भने शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए ।
खेल समापन समारोह तथा उद्घाटन कार्यक्रममा तामाङ कलाकार संघका उपाध्यक्ष विकु थोकर , प्रमुख प्रशिक्षक सितेरियो कराँते संघका महेश कुमार श्रेष्ठ, वरिष्ठ कराँते प्रशिक्षक एवं रेफ्रि काउन्सिलका अध्यक्ष राजेन्द्र कपाली , रेफ्रि काउन्सिलका सह संयोजक महेश रञ्जीत , भक्तपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष राजन चित्रकार , सिद्दि स्मृति प्रष्गिठानका अध्यक्ष श्याम सुन्दर द्यौवडेल, वाईसियल प्रदेश नम्वर तीन श्रम तथा रोजगार विभाग प्रमुख कुमार लामा , बज्र शक्ति एकता समाजका अध्यक्ष विर वहादुर घिसिङ, अन्तराष्ट्रिय रेफ्रि राजु महर्जन , कराँतेकै अन्तराष्ट्रिय निर्णायक राधिका देउला , किक बक्सिङका सचिन बनेपाली , राष्ट्रबादी खेलकुद महांसंघका कोषाध्यक्ष रविन्स लामा , छोनाम लामा , दार्जेलिङ हाइट टोल सुधार समितिका उपाध्यक्ष असोक मोक्तान , र उक्त समितिकै सह सचिव पूर्ण लिम्वु , राधेश्याम नायवारी , जगदम्वा बचत तथा सहकारी संस्थाका पदमलाल तामाङ, काभ्रे निर्माण ब्यवसायी संघका उपाध्यक्ष लानाम दोङ, ह्याङला आदिवासी तामाङ समाजका विरवहादुर घिसिङ, मोहन दोङ, सुदिन दोङ, रेञ्जेन दोर्जे कम्पनी प्रालीका ज्ञान ध्वज तामाङ , अन्तराष्ट्रिय पदक विजेता एवं राष्ट्रिय रेफ्रि रामशरण त्वाती लगाएतका महानुभावको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमका सभापती सूर्यवहादुर घिसिङ रहनु भएको थियो भने कार्यक्रम संयोजक प्रेम थापामगर रहनु भएको थियो ।