काठमाडौं । आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाइन्छ।
सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए। दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना हुने गरेका छन्। यो दिवसलाई हरेक वर्ष रंगकर्मीहरूले नाटकमार्फत् मनाउँदै आएका छन्।
संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसंगतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। नेपालमा पछिल्लो समयमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ।
पहिले काठमाडौंमा मात्र सीमित रंगमञ्च अहिले बाहिरी जिल्लामा पनि फस्टाउन थालेको रङ्गकर्मीहरूले बताएका छन्। भत्तपुरमा पनि हाल सालै आस्था थियटर मार्फत रंगमञ्च संचालन हुँदै आएको छ ।