एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता

42

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

एमबाप्पेले उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई पछि पारेका हुन् । २४ वर्षीय एमबाप्पेले पिएसजीका लागि २४७ खेलमा २०१ गोल गरेका छन् । त्यसअघि काभानीले ३०१ खेलमा २०१ गोल गर्दै पिएसजीको सर्वाधिक गोलकर्ता बनेका थिए ।

दुई विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । २०२२ मा उनले गोल्डेन बुट जितेका थिए । एमबाप्पेले फ्रान्सबाट २०२१ मा नेसन्स लिगको उपाधि पनि जितेका छन् ।

गत नोभेम्वर र डिसेम्वरमा कतारमा भएको विश्वकपको फाइनलमा एमबाप्पेले अतिरिक्त समयमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पूरा गर्दा खेल ३–३ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।

२०१७ मा मोनाकोबाट कीर्तिमानी मुल्यमा पिएसजी पुगेका एमबाप्पेले त्यहाँबाट चारपटक फ्रेन्च लिग वान जितेका छन् । पछिल्लो चार सिजन नै उनी लिग वान र पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् ।

एमबाप्पेले यो सिजन पिएसजीका लागि ३० खेलमा ३० गोल र ८ असिस्ट प्रदान गरिसकेका छन् । २०१७ देखि फ्रान्सको टोलीमा रहेका एमबाप्पेले ६६ खेमा ३६ गोल गरेका छन् ।