वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप सुरु

50

वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप राजधानीमा सुरु भएको छ। वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलबारबाट प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। जसअन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७, ६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका हुन्।