ललित स्मृति यु १८ फुटबल : आर्मीको लगातार दोस्रो जित

897

काठमाडौं । साबिकको बिजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५ – १ ले पराजित गर्दै १० खेलाडीमा सिमित आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई लगातार दोस्रो जित दिलाउन प्रिजन तामाङ, दिनेश योन्जन, दोर्जे तामाङ र रोमन लिम्बुले समान एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो । मनाङका लागि आदित्य शाक्यले एक गोल फर्काए ।

मनाङविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आर्मीले २० औं मिनेटमा प्रिजनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ६२ औं मिनेटमा दिनेशले आर्मीको अग्रता दोब्बर बनाए । खेलको ६७ औं मिनेटमा दोर्जेले थप एक गोल गर्दा आर्मीको अग्रता तेब्बर बन्यो ।

खेलको ७४ औं मिनेटमा मनाङका आदित्यले एक गोल गर्दै खेल ३ – १ मा ल्याए । खेलको ७५ औं मिनेटमा मनाङका डिफेन्डर राम ढकालले आत्मघाती गोल गरेपछि आर्मीको अग्रता ४ – १ मा पुग्यो । खेलको ८८ औं मिनेटमा आर्मीका कप्तान सुमन अर्याल दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि केहि मिनेट आर्मी १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको इन्जुरी समयमा रोमनले पेनाल्टीमा थप एक गोल गर्दै आर्मीलाई ५ – १ ले जित दिलाए ।

लगातार दोस्रो जितसँगै समुह बि मा रहेको आर्मीले ६ अंक जोडेको छ । र, आर्मीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले पहिलो खेलमा सुदूरपश्चिम फुटबल क्लबलाई पराजित गरेको थियो । यता लगातार दोस्रो हार बेहोरेको मनाङको क्वाटरफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अंक बिहीन मनाङ पहिलो खेलमा फ्रेन्डस क्लबसँग पराजित भएको थियो ।