भक्तपुर ।
छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन् । उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी कार्यक्रम अनुसार आयोजित प्रतियोगितामा राजेन्द्र राईले ५.५ अंक बनाएर द्वितीय स्थानमा रहँदै नगद पुरस्कार २५ हजार प्राप्त गरे । समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउण्टर, बुकोल्ज वान टु र मोष्ट वीन नियमका आधारमा तृतीय स्थानमा चित्त बुझाउदै नगद पुरस्कार रु. १५ हजार प्राप्त गरे ।
यसैगरी युवा खेलाडी आशिष फूँयाल चौथो हुँदै नगद १२ हजार, पूर्व विजेता सिएम कृष्ण थापा पाचौं बन्दै नगद १० हजार, नीलम बस्नेत छैटौं हुँदैं ८ हजार, विकास मैनाली सातौं हुँदैं ६ हजार नगद पुरस्कार पाए । यस्तै प्रेम लिम्बू आठौं, सुरोज महर्जन नवौं र वलिमान गुरुङ दशौं स्थानले ५ हजार पुरस्कार प्राप्त गरे ।
यस्तै १७०० मुनिको विधामा २३६२ रेटिङ्ग पर्फोमेन्स गर्दै रञ्जित राई प्रथम बन्न सफल भए । व्यक्तिगत १६९९ रेटिङ्गवाट खेल प्रारम्भ गरेका राईले ६५.२ रेटिङ्ग बढाउदै सबै खेल जितेका हुन् । उनले प्रथम पुरस्कार नगद रु. ५० हजार प्राप्त गरे ।
सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेको ९ चरणको प्रतिस्पर्धामा रामहरि कार्की द्वितीय हुँदै नगद रु. २५ हजार, कपिल गुरुङ तृतीय बन्दै नगद रु. १५ हजार, महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा रहँदै नगद रु. १२ हजार, शिभम कुमार बिकले पाँचौं हुँदै १० हजार प्राप्त गरे ।
यस्तै रोशन खड्गी छैठौं बन्दै ८ हजार, कृष्णप्रसाद सिग्देल सातौं बन्दै ६ हजार र सुरज सिंह, खिलराज राई र राजन पहाडी क्रमशः आठौं, नवौं र दशौं बन्दै जनही नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नाइट चेस क्लब, झापाका अध्यक्ष विश्व विजय घिमिरेलगायतले पुरस्कृत गरे ।
मेचीनगर नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा २ लाख ८२ हजार नगद पुरस्कार प्रदान गरिएको निर्देशक भरत गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीको आवास, खाना र एकतर्फी यातायात समेत कुल १८ लाख २२ हजार रुपैंया खर्च भएको गुरुङले बताए ।