भक्तपुर – मध्यपुर थिमि नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा नगरभित्रका २९ विद्यालयका ७६९ जना छात्रछात्राहरू सहभागी छन्।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, तथा मार्सल आर्ट अन्तर्गत उसु, कराँते र तेक्वान्दो गरी ६० स्पर्धाहरू समावेश गरिएको छ। प्रतियोगिताको आयोजना मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखाले गरेको हो। महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टका अनुसार, विभिन्न खेलहरू निम्न स्थानमा सञ्चालन हुनेछन्:
- भलिबल – बोदे मावि, बोदे
- मार्सल आर्ट (उसु, कराँते, तेक्वान्दो) – आदर्श मावि, लाय्कू थिमि
- कबड्डी – आदर्श मावि, सानो थिमि
- एथलेटिक्स – मध्यपुर युथ एशोसिएसनको खेल मैदान, सानो थिमि
प्रतियोगिताको उद्घाटन भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले गर्नुभयो। उहाँले खेलकुदले शारीरिक तन्दुरुस्ती र मानसिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पढाइसँगै खेलकुदमा पनि सक्रियता आवश्यक रहेको बताउनुभयो।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिता खेलाडीहरूको अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँले हार-जीत स्वाभाविक भएकाले हार स्वीकार्दै थप मेहनत गर्नुपर्ने सुझाव दिनुभयो।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासका लागि वडा लिग फुटबल, विद्यालयस्तरीय फुटबल प्रतियोगिता लगायत विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्दै आएको जानकारी दिनुभयो। साथै, खेल मैदान तथा भौतिक पूर्वाधार विकासका लागि विशेष योजना बनाइ कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले जिल्लाका चार वटै पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन दोस्रो साताभित्र सम्पन्न गर्ने योजना रहेको बताउनुभयो। त्यसपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिनेछ।
उहाँले राजनीतिक दलहरू बीच प्रतिष्पर्धा भए पनि खेलकुदको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
उद्घाटन समारोहमा आस्था महिला विद्यालयका छात्राहरूले नृत्य, चन्द्र सूर्य तेक्वान्दो डोजाङ्गले तेक्वान्दो प्रदर्शन, तथा उसु खेलाडीहरूले प्रदर्शन प्रस्तुत गरेका थिए। साथै, सहभागी विद्यालयहरूबीच मार्चपास प्रतियोगिता पनि गरिएको थियो।