थाहा खबर: आगलागीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत

264

खोटाङ : आगलागीबाट विस्थापित परिवारलाई खोटाङको रावाबेँसी गाउँपालिकाले राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भीषण डढेलोले घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवारलाई पालिकाले राहत प्रदान गरेको हो। आगालागीले सर्वस्व गुमाएका अग्निपीडितलाई राहतस्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडाकुँडा, कम्बल, त्रिपाल लगायतका बन्दोवस्तीका सामान प्रदान गरेको हो।

गाउँपालिका प्रमुख लिलानाथ निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पीडितलाई शनिबार बिहान भग्नावशेष अग्निपीडितको घरमा पुगेर राहत प्रदान गरेको हो। डढेलोले घर जल्दा गोपालको ६ जनाको, युवराजको ६ जनाको, भीमप्रसादको ५ जनाको र अभिकेसरको ४ जनाको परिवारको विचल्ली परेको गाउँपालिका प्रमुख निरौलाले बताए।

यस्तै, गढीथुम्का र कासेघडेरी सामुदायीक वनबाट फैलिएको डढेलोले ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलाको घर जलेर नष्ट भएको छ। सामुदायीक वनबाट गाउँमा छिरेको डढेलोले रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकामा लाखौंको धनमालमा क्षती पुर्‍याएको छ। डढेलोले घर, नगद, सुन, चाँदी, अन्न लगायत जल्दा गोपालको १५ लाख, युवराजको १३ लाख, भीमप्रसादको ६ लाख र अभिकेसरको ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। सोही डढेलोले माक्पा लेवाका तोमबहादुरको करिब २० लाखको क्षति भएको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलालो बताए।

Source link