सालको खपटा सहित भक्तपुर बाट दुई जना पक्राउ 

234

भक्तपुर । भक्तपुर प्रहरीले सालकको खपटासहित दुई जनालाई मङ्गलवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ बस्दै आएका मकवानपुरको हटौंडा उपमहानगरपालिका–३ का २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–२ का २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

उनीहरूलाई चाँगुनारायण नगरपालिका २, बर्खेबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र नाउ) वसन्त पाठकले बताउनुभयो ।

सालकको खपटा बिक्री वितरणका लागि बोकी हिँडी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । सोही क्रममा बाग्मती प्रदेश ०२–०२० प। ८४९७ नम्बरको केटिएम मोटरसाइकलमा करिब एक किलो सालकको खपटा बोकी हिँडी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाउने प्र नाउ पाठकले बताउनुभयो ।