अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री मोदी यजमान, ११ दिनदेखि उपवास

34

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइ त्यसको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृह तयार भएपछि त्यहाँ आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गर्न लागिएको हो । सोमबार स्थानीय समयअनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । उक्त प्राण प्रतिष्ठामा नेपाली पूजारी दुर्गाप्रसाद गौतम पनि सहभागी हुनुहुन्छ ।

सन् २०१९ मा भारतको सर्वाेच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि सो मन्दिर बनाइएको हो । प्राण प्रतिष्ठा अघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा हुनुहुन्छ । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा पनि त्यहाँका प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहनेछ । यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ । आज अढाई बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने आज प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पूरै बन्देज लगाएको छ ।

भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । त्यसमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्याइएको थियो । हजारौँ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको हो । मन्दिर निर्माणको खर्च औपचारिक रूपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर तीन खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गर्नुभएको थियो ।

यसरी हुँदै छ प्राण प्रतिष्ठा
केही दिनअघि भगवान् श्रीरामललाको गर्भको विशेष तस्बिर सार्वजनिक गरिएको थियो । तस्बिरमा रामललाको स्थापना हुने ठाउँमा पूजारीले पूजा गरिरहेको देख्न सकिन्छ । शुक्रबार अयोध्यामा औषधिवास, केस राधिवास, घृत अधिवास, धन अधिवासको आयोजना गरिएको थियो । यसैगरी, शनिबार चिनी अधिवास, फलफूल अधिवास र पुष्पा अधिवास आयोजना गरिएको थियो ।

यसपछि प्राण प्रतिष्ठा कार्यक्रमको एकदिन अगाडि जनवरी आइतबार मध्याधिवर र शैयाधिवासको आयोजना गरिएको थियो भने आज प्राण प्रतिष्ठा कार्यक्रम गरिँदै छ । प्राण प्रतिष्ठा अघिको शुभ संस्कार यसअघि गत मंगलबार सुरु भएर आइतबारसम्म जारी रहेको थियो ।

राजनीतिक परियोजना भएको विपक्षीको टिप्पणी
राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै गर्दा भारतीय जनता पार्टी, यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ र प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरका नाममा राजनीति गरेको भनेर पनि आलोचना भइरहेको छ । मोदीले आउँदो चुनावलाई प्रभावित पार्ने उद्देश्यले काम गरिरहेको र यसक्रममा शास्त्री विधिविधानसमेत अनुशरण नगरेको आरोप लाग्दै आएको छ । विपक्षी दल भारतीय कंग्रेसले त मोदीको राजनीतिक परियोजना भनेर टिप्पणी गरेको छ । उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भगवान् रामलाई करोडौँ भारतीयहरूले पूजा गर्छन् । धर्म मान्छेको निजी मामिला हो तर वर्षौँदेखि भाजपा र आरएसएसले अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएका छन् । यो निर्माणाधीन मन्दिर चुनावी फाइदा उठाउनका लागि मात्रै उद्घाटन भइरहेको छ ।’

कुनै समय विवादास्पद थियो यो भूमि
अयोध्याको जुन स्थानमा अहिले राम मन्दिर बनिरहेको छ, उक्त स्थान लामो समय विवादमा थियो । उक्त स्थानलाई हिन्दू र मुस्लिम दुवै धर्माबलम्विहरूले आ-आफ्नो पवित्रस्थल भएको दाबी गर्दै आएका थिए । सन् १९९२ मा त्यहाँ रहेको बाबरी मस्जिद हिन्दूहरूले भत्काइदिएपछि दंगा भड्किएको थियो । त्यसपछि हिन्दू र मुस्लिमबीच पहिला इलाहाबाद उच्च अदालत र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चलेको थियो । भारतको सर्वोच्च अदालतले २०१९ को नोभेम्बरमा ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको विवादित भूमिमा मन्दिर बनाइनेछ । साथै, अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिद निर्माणका लागि सुन्नी वक्फ बोर्डलाई पाँच एकड वैकल्पिक जग्गा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतको फैसलाप्रति मुस्लिम समुदायले असन्तुष्टि जनाउँदै त्यसलाई स्वीकारेका थिए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले ५ अगष्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गर्नुभएको थियो जसको आज प्राण प्रतिष्ठा गरिँदै छ ।

सुरक्षा व्यवस्था कडा
भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा अघि व्यापक सुरक्षा प्रवन्ध मिलाइएको छ । सो स्थानमा आठ हजार भन्दा बढीको सहभागितामा मन्दिरमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसहितको सहभागिता रहने पूजा समारोह अघि एक सयवटा निजी विमान गोरखपुर पुग्ने बताइएको छ ।

विश्वभरका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठामा भारत र विश्वभरका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा साधु, सन्त, महन्त, भारतीय उद्योगपति, बलिउडकर्मीदेखि कलाकारहरूलाई आमन्त्रण गरिएको हो । सोही कार्यक्रममा विशिष्ट पाहुनाका रूपमा नेपालबाट पनि धेरै व्यक्तिलाई आमन्त्रण गरिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा भारतीय पक्षले उच्च महत्व दिँदै विशिष्ट पाहुनाको रूपमा नेपालका विभिन्न व्यक्तित्वहरूलाई निम्ता दिँदै भारतले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई स्थान दिएको बताइन्छ ।

प्राण प्रतिष्ठा समारोहमा नेपालबाट बराहक्षेत्रस्थित चतराधामका तत्कालीन महन्थ सिद्धबाबा भनिने कृष्ण गिरी, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्थ त्यसतर्फ जानुभएको छ ।

त्यसैगरी, पशुपति क्षेत्र विकास कोषका मूल भट्ट, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व–आइजिपी अच्युतकृष्ण खरेल, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, व्यवसायी वरुण चौधरीका साथै केही सञ्चारकर्मीहरू पनि अयोध्या पुग्नुभएको छ । नेपालबाट करिब ३०० जनालाई निमन्त्रणा गरिएको वताइएको छ । विश्वबाट आठ हजार जनाका लागि निम्तो गरिएको बताइएको छ । ५० देशका प्रतिनिधिसमेत सहभागी हुँदै छन् ।

जानकी मन्दिरमा सवा लाख दीप
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै गर्दा त्यसको चहलपहल नेपालमा पनि देखिँदै छ । यो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै छ । सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवालाख दीप बालिने भएको छ । मन्दिरका महन्थ रामतपेश्वर दासले राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने जानकारी गराउनुभयो । यसका साथै सोमबार उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई उहाँले आग्रह गर्नुभएको छ । उहाँले सो उत्सवलाई ध्यानमा राखेर तयारी तीव्र बनाइएको र कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गर्नुभएको छ । राम मन्दिरको उद्घाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।

तराई मधेशका विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
यस अवसरमा तराई मधेशका बिभिन्न स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, शहीदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् । यस्तै, पर्साको सदरमुकाम र मधेशको एक मात्र महानगर वीरगञ्ज महानगरले आज वीरगञ्जको घडीअर्वामा रहेको रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा नै आयोजना गर्ने भएको छ । नेपालगञ्ज उप-महानरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूमा बिदा दिने घोषणा गरेको छ । नेपालगञ्ज उपमहनगरका मेयर प्रशान्त विष्टले एउटा सूचना निकाल्दै राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूलाई शुभकामना दिँदै विद्यालयहरूमा छुट्टीको घोषणा गर्नुभएको हो ।

यस्तै, कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले पनि भारतको राममन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्षले कमलेशशरण चौधरीले सूचना जारी गर्दै बताउनुभएको छ । यस्तै, कपिलवस्तु, कृष्णनगर र शिवराज नगरपालिकाले पनि विदा दिएका छन् । विभिन्न हिन्दूवादी संघ-संस्थाले धनगढी र नेपालगञ्जमा शोभायात्रा गर्ने तयारी गरेका छन् भने केही नगरमा कलशयात्रा गर्ने भनिएको छ । विराटनगरमा शनिबार मोटरसाइकल ¥याली गरिएको थियो ।

जनकपुरबाट अयोध्याका लागि भार
जानकीको जन्मस्थल जनकपुरधामबाट पुस २० गते भार (कोसेली) पठाइएको थियो । जानकी मन्दिर प्रांगणमा विशेष समारोह आयोजना गरी मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्त रामतपेश्वर दास लगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभएको थियो । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार १०० भार त्यसतर्फ पठाइएको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी गराउनुभयो ।

पशुपतिमा शंखनाद
अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा भइरहँदा नेपालका पनि विभिन्न मठ, मन्दिर एवं धामहरूमा दीप प्रज्ज्वलनको कार्यक्रम राखिएको छ । पशुपतिनाथ परिसरमा रहेको शंकराचार्य मोठनजिकै विश्व हिन्दू परिषद्ले शंखनाद प्रतियोगिता नै गर्दै छ । परिषद्का कार्यक्रम संयोजक जगन्नाथ सुवेदीका अनुसार, ८ गते बिहान ८ बजेदेखि २ बजेसम्म वाल्मीकि रामायण पाठ हुनेछ । ३ बजे १०८ जना पण्डितले स्वस्ती वाचन गर्नेछन् । त्यसपछि शंखघोष प्रतियोगिता र साढे ५ बजे सामूहिकरूपमा १०८ वटा शंखघोष गरिनेछ । त्रिपुरेश्वरको राम मन्दिरमा पनि दीप प्रज्ज्वलनको कार्यक्रम राखिएको छ ।

कालीगण्डकीबाट शिला
राम मन्दिरकै लागि नेपालको कालीगण्डकीबाट शिला पनि लगिएको थियो । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर-६, ठूलोबगरस्थित कालीनदी किनाराबाट १४ र २७ टनका दुईवटा शिला गत माघमा अयोध्या पठाइएको थियो । राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालका विभिन्न नदीहरूबाट जलसमेत पठाइएको छ । विश्व हिन्दू परिषद्, नेपालको नेतृत्वमा जल संकलन गरी जनकपुरबाट अयोध्या पठाइसकिएको छ ।