एचआइभी सङ्क्रमितहरूका लागि नयाँ आशा

96

राजेश दिदिया

भक्तपुर ।  एचआइभी सङ्क्रमितहरूका लागि नयाँ आशा पलाएको छ ।  एचआइभी सङ्क्रमित सबै व्यक्तिहरूका लागि चाँडै नै सुईमार्फत दिने एआरटी उपलब्ध हुने भएपछि उनीहरूमा आशा पलाएको हो ।

सुई मार्फत दिइने एन्टीरेट्रोभाइरल थेरापी उपलब्धि मूलक देखिएका कारण यो छिटै विश्व भर उपलब्ध गराउने लक्ष्यका साथ विश्व स्वास्थ्य सङ्गठन लागि परेको छ । यो उपचार विधिले दैनिक औषधि सेवनको झन्झटबाट मुक्त गर्दै, प्रत्येक केही महिनामा मात्र सुईको माध्यमबाट एआरटी प्राप्त गर्न सक्ने सुविधा दिन सक्ने भएका कारण यो निकै प्रभावकारी साबित हुने स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसले विशेष गरी औषधि सेवनमा समस्या झेलिरहेका व्यक्तिहरूका लागि ठुलो राहत पुर्‍याउनेछ, किनकि नियमित रूपमा औषधि खान नपुग्दा एचआइभीको प्रभावकारी नियन्त्रणमा चुनौती उत्पन्न हुन्छ। सुईमार्फत दिइने एआरटीको आगमनले एचआइभी सङ्क्रमितहरूलाई थप सहज र प्रभावकारी उपचारको नयाँ विकल्प दिन सक्छ, जसले विश्वव्यापी रूपमा एचआइभी व्यवस्थापनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

विभिन्न अनुसन्धानहरूबाट यो विधि सुरक्षित र प्रभावकारी देखिएको छ, र चाँडै नै यसलाई विश्वव्यापी रूपमा लागू गर्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले तयारी गरिरहेका छन्।

सुई मार्फत एआर्टी दिँदा वर्षको दुई पटक मात्र दिए पुग्ने भएका कारण पनि यो निकै प्रभावकारी साबित हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

हालैमा भएको एक अध्ययनले सुई मार्फत एआर्टी प्रयोग गर्दा एचआइभीको सङ्क्रमणको जोखिम ९६प्रतिशतले कमी आएको स्वास्थ्य सङ्गठनले जनाएको छ ।

हाम्रो जस्तो सङ्क्रमितहरूमा भेदभाव हुने देशमा यो प्रविधि मार्फत एआर्टी दिन सके निकै प्रभावकारी हुने देखिन्छ ।

सुई मार्फत दिइने एआर्टी बजारमा सहज रूपमा ल्याउन सकिएको खण्डमा वर्षमा दुई पटक मात्र खोप लगाउँदा पुग्ने भएका कारण यो एचआइभी रोकथाममा सुरक्षित र प्रभावकारीका साथ साथै दैनिक रूपमा एआर्टी लिन सम्भव नभएका लिन झन्झटिलो मान्ने तथा बिर्सने समस्या भएकाहरू लाई अनि भेदभावको डरले एआर्टी सेन्टर टाढा सम्म धाउनुपर्ने बाध्यता भएकाहरूलाई साथै औषधीको पहुँचको चुनौती झेल्ने व्यक्तिहरूलाई निकै फाइदाजनक हुने देखिन्छ । साथै स्वास्थ्य सङ्गठनका अनुसार खोप मार्फत एआर्टी लिँदा सर्ने दरमा पनि कमी आउने छ जसका मार्फत आगामी दिनमा यो रोग रोकथामका लागि कोषे ढुँगा समेत साबित हुने देखिन्छ ।

खोप मार्फत एआर्टी लिँदा सर्ने दर समेत कमी हुने भएमा महिलाहरूको प्रजनन स्वास्थ्य तथा उनीहरूको मातृत्वको रक्षा समेत हुने देखिन्छ ।