भक्तपुर । विश्वभर हरेक वर्ष अप्रिल २५ तारिखमा मनाइने विश्व औलो (मलेरिया) दिवस नेपालमा समेत शुक्रबार विविध कार्यक्रमहरूमार्फत मनाइएको छ। यस वर्ष ‘औलो हटाउन तयार छौं’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
यस अवसरमा जनस्वास्थ्य कार्यालय, भक्तपुरले जिल्लाका सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा कार्यालय प्रमुख अञ्जना खड्काले नेपालले सन् २०२५ भित्र मलेरिया उन्मूलन गर्ने लक्ष्य राखे पनि, अब सन् २०३० सम्म उन्मूलन गर्ने रणनीति अनुसार कार्य अघि बढाइएको जानकारी दिइन्।
उनले भनिन्, “नेपालमा अझै पनि मलेरियाको जोखिम कायमै छ। त्यसैले लामखुट्टे नियन्त्रण, जनचेतना र चिकित्सकीय पहुँच बढाउनु अहिलेको प्रमुख आवश्यकता हो।”
औलो रोगबारे मुख्य तथ्यहरू:
-
एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट फैलिने औलो रोग विशेषगरी दूषित पानी वा खुला नाली क्षेत्रमा बसोबास गर्ने लामखुट्टेको कारण सर्छ।
-
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर औलोका कारण प्रत्येक वर्ष करिब ५० हजार मानिस प्रभावित हुन्छन्, जसमा २७ प्रतिशत मृत्यु औलोकै कारण हुने गर्छ।
-
पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिला यो रोगको उच्च जोखिममा पर्ने समुहमा पर्छन्।
-
सन् २०१६ मा मात्रै ९१ देशका २१६ मिलियन व्यक्तिमा औलोको संक्रमण देखिएको थियो, जसबाट ४ लाख ४५ हजार जनाको मृत्यु भएको थियो।
-
नेपालमा गत वर्ष मात्रै ५४१ जना औलो प्रभावित भएका थिए।
-
नेपालमा भेटिने औलोका परजीवीमध्ये प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभ्याक्स प्रमुख हुन्।
-
तीमध्ये फाल्सिपेरम जातको औलो बढी गम्भीर र खतरनाक हुने विज्ञहरूको भनाइ छ।
-
खुला सिमाना तथा भारतबाट आउने संक्रमणयुक्त व्यक्तिहरूबाट नेपालमा करिब ४५ प्रतिशत औलो संक्रमण फैलिने तथ्य प्रस्तुत गरिएको छ।
औलोको संक्रमण वर्षायाम सुरु हुने वैशाख महिनादेखि बढ्न थाल्छ र असारदेखि कात्तिक महिनासम्म उच्च जोखिमको अवस्था रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सन्चारकर्मीहरूसँगको अन्तरक्रियामा मलेरिया नियन्त्रण र उन्मूलनका उपाय, जोखिम समूहको पहिचान तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका उपायहरूबारे समेत छलफल गरिएको थियो।