हप्ता-दस दिनभित्र कोरोना संक्रमितको संख्या २० हजार नाघ्न सक्छः स्वास्थ्य मन्त्रालयका अधिकारी

7

काठमाडौं, माघ । स्वास्थ्य मन्त्रालयको सरुवा रोग महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अर्को साताको अन्त्यसम्ममा कोरोना संक्रमितको संख्या २० हजार नाघ्न सक्ने प्रक्षेपण गरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पौडेलले भने, “कोरोना संक्रमण विश्वभरि नै तीव्रतर रुपमा अधिक संख्यामा बढिरहेका छन् । दोस्रो लहरमा हामीले प्रतिदिन ९ हजार २ सयसम्म संक्रमित भेट्टाएका थियौं । अहिलेको लहरमा हिजो एकै दिन ११ हजार नाघ्यो । एउटा प्रक्षेपण अनुसार हामी अर्को हप्ताको अन्त्यसम्म पीसीआरबाट प्रतिदिन २० हजार भेटाउन सक्छौं । त्यसमा एन्टिजेनबाट थप हुन सक्छ ।”
ओमिक्रोन भाइरस अत्यन्त संक्रामक भएकाले छिटो फैलने भएकाले आगामी तीन-चार हप्ता नेपालका लागि अप्ठ्यारो हुने उनले औंल्याए । सरुवा रोग महाशाखा प्रमुख डा. पौडेलले थपे, “आउँदो तीन-चार हप्ता अलिकति अप्ठ्यारो हुन्छ । हप्ता-दस दिनमा उत्कर्षमा पुगेर बिस्तारै कम हुँदै जान्छ । तर हामी आत्तिइहाल्नु पर्दैन । अस्पतालका बेड भरिएको छैन । भेन्टिलेटर, आईसीयू, एचडीयूहरु उपलब्ध छन् । हामी महामारीबाट पार हुन सक्छौं ।”
डा. पौडेलका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार हुँदा पनि आइसोलेसनमा १ हजार बिरामीमात्र छन् । आईसीयूमा १ सय ६० जना छन् भने २७ जना भेन्टिलेटरमा छन् । देशभरि ८ हजार २ सय आइसोलेसन बेड छन् । १ हजार भेन्टिलेटर छन् । ३ हजार ८ सय एचडीयु छन् । संक्रमितको अवस्था हेरेर निजी क्षेत्रका अस्पतालका बेड पनि प्रयोग गर्न सकिने स्थिति छ ।
कोरोनाको तेस्रो लहरमा संक्रमितको संख्या ४० लाखसम्म पुग्न सक्ने बताए । उनले थपे, “५० प्रतिशत संक्रमितलाई लक्षण नै थाहा हुँदैन । अहिले कोही लक्षणविहीन, कोही सामान्य लक्षणका र कोही घाँटी दुख्ने, नाकबाट पानी बग्ने आदि मध्यम स्तरका बिरामी देखिएका छन् । दोस्रो लहरमा ६८ प्रतिशतमा एन्टीबडी देखिएको थियो । ओमिक्रोन फोक्सोभन्दा माथिल्लो श्वासप्रश्वास प्रणाली रहने भाइरस हो । स्वास्थ्य जटिलता देखिँदैन भनेर ढुक्क नबसौं । दीर्घरोगीलाई गाह्रो पार्न सक्ने भएकाले सचेत चाहिँ हुनुपर्छ ।” उनले मृत्युदरका हिसाबले डेल्टाभन्दा ओमक्रोन चार गुनाले कम रहेको बताए ।
बजारमा सिटामोल अभाव छ, किन अनुगमन गर्नुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा सरुवा रोग महाशाखा प्रमुख डा. पौडेलले भने, “कोभिड-१९ का कारण माग उच्च रहँदा केही स्तरमा आपूर्तिमा केही चुनौती छ । तर अभाव हुन दिदैनौं । नेपाल औषधि लिमिटेडसँग रहेको औषधी सोझै खरिद गरेर हामी अस्पताललाई उपलब्ध गराउँछौं ।”
औषधी व्यवस्था विभागले सिटामोल लुकाउनेलाई कडा कारबाही गर्ने उनले बताए । उनले थपे, “औषधी व्यवस्था विभागले निरन्तर अनुगमन गरिरहेको छ । यस्तो बेला गलत मनसाय राखेर स्टक राखेको र लुकाएको भेटिएमा कारबाही हुन्छ । कसैले पनि अनावश्यक भण्डारण नगरे बजारमा सिटामोलको अभाव हुँदैन ।”