नेपालमा हाल विभिन्न राजमार्गहरू रहेका छन् । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म राजमार्गहरू छरिएर रहेका छन् । नेपालमा भएका कुन राजमार्ग कस्तो छ त ? जसबारे यहाँ ब्याख्या गरिएको छ ।
महेन्द्र राजमार्ग
पूर्वमा काँकडभिट्टा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो यो राजमार्गको मध्य भाग गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा पर्दछ । उक्त राजमार्गको लम्बाई १ हजार २४ किलोमिटर रहेको छ ।
त्रिभुवन राजपथ
नेपालको सबैभन्दा पुरानो यो राजमार्गले देशकै ठुलो व्यापारिक नाका वीरगञ्ज र राजधानी काठमाडौंलाई जोडेको छ । यो राजमार्गमा अत्यन्त बढी घुम्तीहरू रहेका छन् भने यसको लम्बाइ १ सय ५८ किलोमिटर रहेको छ । यो राजमार्ग अन्तर्गत भैंसे(नौविसे सडक खण्ड यात्राको लागि यति सहज मानिंदैन ।
अरनिको राजमार्ग
अरनिको राजमार्ग नेपाललाई चीन स्वशासित क्षेत्र तिब्बतको खासासँग जोड्ने पहिलो राजमार्ग हो । चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो । यसको लम्बाई ८१ किलोमिटर रहेको छ ।
पृथ्वी राजमार्ग
पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी काठमाडौं उपत्यकासंग जोडदछ । यो राजमार्ग २०० कि मी लामो रहेको छ ।
मेची राजमार्ग
पूर्व–पश्चिम राजमार्गको १० कि.मी. दूरीमा रहेको झापाको चारआली देखि, इलाम, पाँचथर, ताप्लेजुङ सम्म जोड्ने सडकलाई मेची राजमार्ग भनिन्छ । यो सामुन्द्रिक सतहको करिव १०० मी. उचाई देखि करिव २५०० मीटरको उचाईसम्म पुग्दछ। मेची अञ्चलको तलदेखि माथि सम्म जोड्ने भएकोले यसलाई मेची राजमार्ग भनिएको हो। मेची राजमार्गको जम्मा २६८ कि.मी. मध्ये चारआली देखि ताप्लेजुंगको सुकेटार विमानस्थलसम्म कालोपत्र भैसकेको छ ।
सगरमाथा राजमार्ग
सगरमाथा राजमार्ग लहान देखि केहि किमी पूर्व कदमाहा भन्ने ठाउँमा पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) बाट शुरू भएर उदयपुरको गाईघाट हुँदै उत्तर तर्फ पहाड़ी जिल्लाहरूलाई जोड़दै सोलुखुम्बु जिल्लामा टुंगिन्छ । यो राजमार्ग निर्माणकै अवस्थामा रहेकोले धेरै ठाउँ कालोपत्रे हुन बाँकी छ भने केही ठाउँ कालोपत्रे भइसकेको छ ।
रत्न राजमार्ग
वीरेन्द्रनगर(कोहलपुर ११५ किमी तथा कोहलपुर नेपालगञ्ज २५ किमी रहेको यो राजमार्गले नेपालगञ्जस्थित भारतीय सिमा रुपडियादेखि सुर्खेत उपत्यकालाई जोड्दछ ।
कर्णाली राजमार्ग
पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने भएकोले कर्णाली राजमार्ग अथवा सुर्खेत( जुम्ला सडकखण्ड भनिन्छ । निर्माणकालको बेलामा सुर्खेत–जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंङ्कको आर्थिक सहयोगमा निर्माण भएको थियो । यो राजमार्गमा सवारी दुर्घटना धेरै नै हुने भएकोले यात्रा अलि जोखिमपूर्ण मानिन्छ