काठमाडौं । देशभरबाट संकलित १ लाख ८० हजार ग्रन्थको माइक्रोफिल्म गरिएको पुरातत्व विभागअन्तर्गतको राष्ट्रिय अभिलेखालयले जनाएको छ । अभिलेखालयमा मूल ग्रन्थहरु ३० हजारको हाराहारीमा छन् । यहाँ विभिन्न संस्था तथा व्यक्तिहरुबाट ग्रन्थ आउने गरेका छन् । धेरै वर्षअगाडि नेपाल र जर्मनको एउटा परियोजना थियो जसमा विभिन्न देशहरु गएर ग्रन्थहरुको माइक्रो फिल्म गरेर ग्रन्थहरुको संकलन गरिएको थियो ।
केशर पुस्तकालयमा भएका हस्तलिखित ग्रन्थको पनि माईक्रो फिल्म राष्ट्रिय अभिलेखालयमा छ । अन्य पुस्तकालयहरुको हस्तलिखित ग्रन्थको पनि माईक्रो फिल्म पुरातत्व विभागमा छ । राष्ट्रिय अभिलेखालयका अनुसन्धान अधिकृत राजु रिमाल भन्छन्, “ हामीसँग पुस्कालयको मात्र नभई कुनै व्यक्ति विशेषले इच्छाअनुसार दिएको हस्तलिखित ग्रन्थको पनि माईक्रो फिल्म छ ।”
त्यहाँ रहेका ग्रन्थहरुमध्ये मैथिली लिपि र मैथिली भाषामा लेखिएका ग्रन्थहरु पनि छन् । जुन लगभग २२ सय वटा छ । यद्यपि त्यहाँ रहेका हस्तलिखित ग्रन्थहरु प्रकाशन गर्ने काम भने पुरातत्व विभागले नगर्ने रिमाल बताउँछन् । उक्त हस्तलिखित ग्रन्थहरुलाई विभिन्न अनुसन्धानकर्ताहरुले प्रतिलिपि लगेर प्रकाशन गर्ने गर्छन् ।
हजारौं ग्रन्थहरु भएको उक्त अभिलेखालयमा हस्त लिखित ग्रन्थहरुको लागि ७ वटा भण्डारण कक्ष छन् । जसमा तापक्रम, आद्र्धतालाई व्यवस्थित गरेर राखिएको छ । बिग्रन लागेका ग्रन्थहरुलाई भने रसायन शाखामा पुराना भएका र ढुसी लागेका ग्रन्थहरुको मर्मत समेत गर्ने गरिएको छ । यद्यपि नष्ट नै गनुपर्ने ग्रन्थहरु कुनैपनि छैनन् ।
राष्ट्रिय अभिलेखालयमा विभिन्न भाषाका प्राचिन अवस्थाका १३ सय देखि १४ सय बर्षदेखिका ग्रन्थहरु अझै सुरक्षित छन् । “यी ग्रन्थहरुको संरक्षणका लागि विशेष खालको भण्डारण कक्षहरुको आवश्यकता पर्ने हुनाले भवनहरु पनि त्यही प्रकारको चाहिने हुनाले कार्यालय सार्न सम्भव छैन,” रिमालले भने ।रुमु न्यौपाने