रानीकोटमा मल्लकालिन सम्पदा फेला

650

रानीकोट गढी दरवारको संरक्षण गर्ने
भक्तपुर । पुरातत्व विभागले रानीकोटमा उत्खनन् गर्दा मल्लकालिन सम्पदा फेला परेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.७ स्थित ऐतिहासिक रानीकोट गढी दरवारको गत मंसिर १० देखि १६ गतेसम्म उत्खनन गर्ने क्रममा मल्लकालिन इँटा, ढुँगा माटाका भाडाका टुक्रा लगायतका सामाग्री भेटिएको विभागले जनाएको छ ।

शनिवार पुरातत्व विभागका महानिर्देशक र स्थानीय जनप्रतिनिधिहरुले गढी दरवारको उत्खननको निरिक्षण गर्दै स्थानीय सरकार पुरातत्व विभागले गढी दरवारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । विभागका महानिर्देशक भेषनारायण दाहालले प्राचिन स्मारक संरक्षण ऐन अनुसार अब विभागले गढी दरवारको संरक्षण गर्ने स्पष्ट गर्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐनले कुनै पनि ऐतिहासिक र पुरातात्विक वस्तुको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले विभागको सुपरिवेक्षणमा गढी दवारको संरक्षण गरिने बताउनुभयो । उत्खननबाट भेटिएको इँटा र झिँगटीका टुक्रा अवलोकन गर्दा गढी दरवार मल्लकालमा निर्माण भएको पुष्टि भएको भन्दै दाहालले अब स्थानीय सरकार र विभागले गढीको संरक्षण गर्नेछ ।

पुरातत्व विद् तारानन्द मिश्रले समुद्री सतहदेखि २००० मिटर उचाइमा रहेको ऐतिहासिक रानीकोट गढी मल्लकालमा निर्माण भएको भन्दै यसको संरक्षण र संबद्धन सरकारले गर्नुपर्ने बताउनुभयो । यस गढी दरवार राज्यको सम्पत्ति भएको भन्दै गढी दरवाबाट भेटिएका वस्तुको संग्रालय निर्माण गरेर राख्न सरकारलाई सुझाव दिनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले रानीकोट गढी दरवार क्षेत्र नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकास गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार मल्लकालीन गढी दरवार उत्खनन कार्यले नगरपालिकाको पहिचानलाई अझ फराकिलो पारेको भन्दै थापाले अब नगरपालिकाले गढी दरवार क्षेत्रलाई प्रमुख साँस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले यस रानीकोट गढी दरवारसँगै रानीले नुहाउने कुवा, धोबिखोला, केही वर्ष अगाडि यस क्षेत्रमा मल्लकालिन तरवार, ढिकी, दाँतो लगायतका सामाग्री भेटिएकाले यो रानीकोट गढी मल्लकालिन दरवार भएको पुष्टि भएको बताउनुभयो । नगरपालिकाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सापकोटाले यस पवित्र कार्यमा सबैलाई साथ दिन आग्रह गर्नुभयो ।

रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका अध्यक्ष लालबहादुर लामाले गढी दरवार क्षेत्रका विकासमा थप सक्रिय बन्न आफूहरुलाई उत्साह थपिएको बताउनुभयो । नगरपालिका र संस्थाको पहलमा गढी दरवारको उत्खनन हुनु सकारात्मक भएको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अब आफूहरु निरन्तर सक्रियरुपमा लाग्ने लामाले प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरातत्व विभाग उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले विभागले स्थानीय सरकारसँग मिलेर प्राचिन स्मारक ऐन अनुसार गढी दरवारको संरक्षण गर्ने बताउनुभयो ।

रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा दुई वर्ष अघि दरवारसम्म पुग्नका लागि पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा १४,०० सिँढी निर्माण भइसकेका छन । यस क्षेत्रमा जैबिक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा,खरायो दुम्सी बधेल, बट्टाई, लामापुछुरे चरा पंन्छी तथा जंगली जनावर पाइने संस्थाले जनाएको छ । रानीकाटे दरवारको करिब दुई किलोमिटर उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशपुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेवम, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरबको लगायको पर्यटकीय क्षेत्र रहेको छ ।