१३ प्रतिशतभन्दा बढी स्वास्थ्य सेवा कर असुली गर्ने नर्भिक, ग्राण्डी पनि कारबाहीको सूचीमा
सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले गैरकानूनीरुपमा सेवाशुल्क लिएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाममा बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन बिएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि बसुन्धारालाई अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो।
दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षकमा गैरकानूनीरुपमा १० प्रतिशतभन्दा बढी सेवा शुल्क असुली गरेको पाइएको हो।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यसरी बिरामीसँग अनावश्यकरुपमा बढी रकम असुल गर्ने अस्पताललाई सम्पूर्ण प्रमाणसहित मुद्दा चलाउन आइतबार महानगरीय प्रहरी परिसर हनुमानढोकामा नामावली पठाइएको जानकारी दिए।
‘बिरामीले एक लाख बराबरको उपचार गराएको छ भने उसले अस्पताललाई अतिरिक्त २५ हजार सेवा शुल्क बुझाएको छ, अस्पतालले बिरामीलाई ठग्ने काम गरेका छन्, उनीहरुका विषयमा सम्बन्धित निकायले पनि आवाज उठाउन आवश्यक छ’, महानिर्देशक दाहालले राससलाई बताए।
‘हामीले आज तिनै वटा अस्पतालले गैरकानूनीरुपमा बिरामीसँग अतिरिक्त सेवा शुल्क लिइएको पाएपछि कारबाही प्रक्रियाका लागि प्रहरीकहाँ पठाएका छौँ’, विभागका महानिर्देशक दाहालले आइतबार भने, ‘स्वास्थ्यमा हामीले कारबाहीका लागि पहिलोपल्ट पठाएका हौँ, अरु अस्पताल पनि छन् ती भोलि पठाउँछौँ।’
सरकारले व्यवस्था गरेको पाँच प्रतिशत स्वास्थ्य सेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० प्रतिशत विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालहरूमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ।
‘धेरै अस्पतालले बिरामीसँग १३ प्रतिशत स्वास्थ्यकर पनि लिएर अरु शीर्षकमा थप रकम पनि उठाएका छन् भने केही अस्पतालले पाँच प्रतिशत स्वास्थ्य कर पनि नलिएको देखिएको छ त्यो थप शंकाको विषय छ’, दाहालले थपे।
प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले बिरामीसँग कुनै सेवा शुल्क नलिएको पाइएको छ। सरकारले अनिवार्य गरेको पाँच प्रतिशत स्वास्थ्य कर पनि किन नलिएको भन्ने अर्को अनुसन्धानको विषय भएको विभागको भनाइ छ।
विभागले आइतबार नै चौधरी ग्रुपको लगानी रहेको अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सलाई पनि गाडीको बिक्रीमा गैरकानूनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ।
अरुण इन्टर कन्टिनेन्टल टे«डर्सले ग्राहकलाई सम्पूर्ण करसहित नौ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानूनी कर जोडेर १५ लाख ३२ हजारसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ।
अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर बिक्री गर्न पाइने भए पनि सो कम्पनीले विज्ञापन खर्च, दुई फरक शीर्षकमा पेट्रोल खर्चलगायत लिइएको पाइएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार उक्त कम्पनीले एक हजार ३०० गाडी बिक्री गर्दा ४३ करोडभन्दा बढी लिएको अनुगमनका क्रममा फेला परेको छ।