अमेरिकामा नेपालीले बनाए १ अर्ब डलरको कोष नेपाल सहित विश्व बजारमा व्यवसाय गर्ने योजना

440

काठमाडौं:- अमेरिकामा बस्ने इन्जिनियर तथा अन्य पेशाकर्मी नेपालीको पहलमा १ अर्ब अमेरिकी डलरको कोष स्थापना गरेर नेपाल सहित विश्व बजारमा व्यवसाय गर्ने योजना बनेको छ ।

अमेरिकाको बस्ने ९ जना एनआरएन मिलेर नेपाली डायस्पोरा लगानी कोष स्थापना गरेका छन् । यो कोष सन् २०१९ को जनवरी महिनामा अमेरिकामा दर्ता भएको हो ।

कोषको अध्यक्षमा डा. देशराज सोन्याक छन् । यस्तै सचिवमा डा. शिवहरि दाहाल, कोषाध्यक्षमा सुरेश अधिकारी, प्रमुख फाइनान्सीयल अफिसरमा विश्वमान आङदाङबे, प्रमुख संचालन अधिकृतमा मिलन कार्की तथा बोर्ड डाइरेक्टरमा कृष्ण भण्डारी, सूर्य लम्साल, सन्दीप प्याकुरेल र रमेश खनाल रहेका छन् ।

कोषले भविष्यमा नेपाल लगायत विश्वभर लगानीका विविध सम्भावनाहरुको खोजी गर्ने उद्देश्य रहेको बोर्ड संचालक भण्डारीले जानकारी दिए । गैरआवाशीय नेपाली संघले सामाजिक काम गर्ने भएकोले व्यवसायिक काम गर्ने प्रयोजनको लागि कोषको स्थापना गरिएको भन्डारीको भनाइ छ ।

‘एनआरएनको यो पुस्ता धेरै लगानी गर्न सक्ने गरी आर्थिक हैसियत बनाएको पुस्ता होइन, यो पुस्तासँग नेपाल लगायत विश्वभर व्यवसायिक काम गर्ने सोच र उत्साह छ, तर, धेरै लगानी गर्न नसक्ने अबस्था भएकोले सानो सानो लगानी जम्मा गरेर नेपालका पूर्वाधार लगायतका क्षेत्र तथा विश्वभर लगानी गर्न कोषको स्थापना गरिएको हो,’ भन्डारीले शिलापत्रसँग भने ।

कोषले १ अर्ब अमेरिकी डलरसम्मको स्रोत परिचालन गर्ने गरी अमेरिकी कानुन अनुसार दर्ता गरिएको छ । यस्तो कोषमा एनआरएनले १ हजार अमेरिकी डलरसम्म लगानी गर्न सक्नेछन् । अन्य देशमा कोष विस्तार गर्न सोही देशका एनआरएनको पहलमा कोषको शाखा जस्तो गरी स्थापना गर्न सकिने भन्डारीले बताए ।

एक अर्ब अमेरिकी डलरको शेयर निस्कासन गर्ने लक्ष्य बोकेको कोषमा ए बर्गको कमन शेयरका लागि प्रतिशेयर १० डलर पर्ने १ हजार वटा गरी १० हजार डलर मूल्य बराबरका तथा बी बर्गमा १० डलरका दरले एक सय शेयरको जम्मा १ हजार डलर लगानी गर्न सकिने प्रावधान राखिएको छ । यसको अर्थ एक जना एनआरएनले १ हजार डलर लगानी गर्न पनि सक्ने र १० हजार डलर लगानी गर्न पनि सक्ने व्यवस्था गरिएको छ ।

कोषले नेपाल सरकारले प्राथमिक क्षेत्र भनी निर्धारण गरेका स्वच्छ उर्जा, पूर्वाधार, पर्यटन, प्रविधि र कृषिजन्य उद्योगमा लगानी गर्नेछ । यस्तै नेपालको उच्च सामाजिक आर्थक प्रभाव पार्ने र दीगो प्रतिफल दिने अन्य उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको बोर्ड डाइरेक्टर भन्डारीको भनाइ छ ।

पहिलो प्राथमिकता नेपाल, दोस्रो अमेरिका
अमेरिकाको विभिन्न क्षेत्रमा स्थापित भइसकेका व्यक्तिहरुले स्थापना गरेको सो कोषको पहिलो प्राथमिकतामा नेपाल परेको छ । नेपालको कुनै परियोजनामा तत्काल लगानी गर्ने योजना रहेको भन्डारीको भनाइ छ । नेपालपछि दोस्रो प्राथमिकतामा भने अमेरिका छ ।

‘पहिलो परियोजना नेपालमा नै गर्ने सोच बनाएका छौं, दोस्रो प्राथमिकतामा अमेरिका छ, त्यसपछि विश्वभर जहाँ जे जस्तो आवश्यकता र अवसर हुन्छ त्यही अनुसार लगानी गर्छाैं,’ भन्डारीले भने ।

पहिलो परियोजना आरती हाइड्रो
कोषले पहिलो परियोजनाको लागि नेपालको आरती हाइड्रोपावरले निर्माण गर्न लागेको माथिल्लो ईर्खुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । कूल १४.५ मेगावाट जलविद्युत उत्पादन गर्ने सो आयोजनामा कोषले ३० प्रतिशत इक्वीटी हाल्नेगरी सम्झौता भएको आरती हाइड्रोपावरका कार्यकारी संचालक प्रकाश दुलाले जानकारी दिए । कोषले सो आयोजनाको लागि करिब २४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको बताइएको छ ।

अन्य क्षेत्र पनि छन् रोजाईमा
कोषले नेपालको जलविद्युतको अलावा अन्य क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको छ । लगानीको लागि प्रस्तावित आयोजनाहरुको अध्ययन भइरहेको बोर्ड डाइरेक्टर भन्डारीले जानकारी दिए । कोषले नेपालको पूर्वाधार निर्माण, कृषि उद्योग तथा पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न अध्ययन गरिरहेको छ ।