एसईई : परीक्षा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी

77

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरू हुँदैछ । परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नेपाल समाचारसँगको कुराकानीमा आवेदन फारम भरेका विद्यार्थी संख्याभन्दा ३२ हजार ३ सय ६४ जना कम विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।

परीक्षामा प्रदेशगत रूपमा सबैभन्दा बढी वागमतीमा १ सय ७९ परीक्षा केन्द्रमा १ लाख ६ हजार ९ सय ५९ ले परीक्षा दिँदैछन् । सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ । देशभर २ हजार ३६ र जापानको लागि जापानको टोकियोमा एक परीक्षा केन्द्रसमेत गरी यसपटक २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षाका लागि उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको जानकारी दिँदै प्रश्नपत्र एक घण्टा अघिमात्र केन्द्रमा पुग्ने बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रलाई नजिकैको प्रहरी चौकीमा राख्ने व्यवस्था गरेको छ ।

परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी हुँदैछन् । परीक्षामा ५० जना दृष्टिविहीन परीक्षार्थीका लागि उनीहरूको आफ्नै विद्यालयमा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । परीक्षामा प्राविधिक धारका विद्यार्थीले भने ४ सय ६३ केन्द्रबाट परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख, बोर्डका ७ प्रादेशिक कार्यालय र ५ शाखा कार्यालय प्रमुख, ७ प्रदेशका शिक्षा हेर्ने सचिव र प्रदेश शिक्षा निर्देशनालयका निर्देशकसहितको बुधबार बसेको बैठकले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै पहल गर्ने निर्णय गरेको छ ।

परीक्षामा परीक्षाको गोप्यता कायम गर्न र परीक्षार्थीहरूलाई हतोत्साही हुन नदिन भन्दै परीक्षा हलभित्र सञ्चारकर्मीहरूलाई प्रवेशका साथै फोटो र भिडियो खिच्न निषेध गरिएको छ । गृह मन्त्रालयको निर्देशनपछि बोर्डले उक्त निर्णय गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षा केन्द्रमा प्रश्नपत्र अभाव भए तत्काल इमेल गरी थप प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ भने परीक्षमा हुलहुज्जत भएर परीक्षा स्थगित गर्नुपरे तत्काल फरक सेटको प्रश्नपत्र इमेलबाट पठाउने व्यवस्था गरिएको छ ।

परीक्षामा ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालयका विद्यार्थी सहभागी हँुदैछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थीले परीक्षा दिँदैछन् ।

साधारणतर्फ ६ वटा अनिवार्य, संस्कृततर्फ ६ र प्रथम ऐच्छिकतर्फ २४ र ऐच्छिक द्वितीयतर्फ २३ गरी ४७ ऐच्छिक विषयको परीक्षा हुँदैछ । बोर्डले साधारण शिक्षा एवं परम्परागत शिक्षा, संस्कृति, वेद विद्याश्रम, गोन्पा तथा मदरसा र प्राविधिक तथा व्यावसायिक शिक्षा गरी तीन धारका परीक्षार्थी रहने जनाएको छ ।

२९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ । बोर्डले परीक्षामा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने जनाएको छ । परीक्षामा बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने जनाइएको छ ।समाचारपत्रबाट