नयाँदिल्ली: भारतको असम राज्यस्थित ब्रह्मपुत्र नदीमाथि बनेको देशकै सबैभन्दा लामो पक्की पुलको त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।
सत्तामा आएको तीन वर्ष पुरा भएको अवसरमा मोदी आफैँ असम पुगेर ब्रह्मपुत्र नदीमाथि बनेको ९.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेका हुन् ।
मोदी सरकारले अर्थात २६ मेका दिन सत्तामा आएको तीन वर्ष पुरा गरेको छ । यस अवसरमा मोदी सरकारले देशलाई सबैभन्दा लामो पुल उपहार दिएको हो ।
प्रधानमन्त्री मोदीले असमको ब्रह्मपुत्र नदीमा देशको सबैभन्दा लामो पुल ढोला-सादियाको आजै उद्घाटन गरेर देश विकासको गतिमा तीब्ररुपमा अघि बढेको सन्देश दिएका हुन् ।
देशको सबैभन्दा लामो पुलको उद्घाटन गरेपछि मोदीले असमको तिनसुकियामा जनतालाई सम्बोधन गर्दै कयौँ वर्षदेखि जुन कुराको जनताले प्रतिक्षा गरिरहेका थिए, त्यो आज पुरा भएको उल्लेख गरे ।
‘पाँच दशकदेखि तपाईँहरु जुन पुलको प्रतिक्षामा हुनुहुन्थ्यो, त्यो आज तपाईँहरु सामुन्ने उभिएको छ’, उनले भनेका छन्, ‘यो पुलले समय र खर्चको पनि बचत हुनेछ । यो पुलका कारण अब दैनिक सामान्य नागरिकको पनि १० लाख रुपैयाँ बचत हुनेछ ।’
समाचार अनुसार सन् २०११ मा निर्माण सुरु भएको यो पुलको लागत २०,५६ करोड भारतीय रुपैयाँ (करिब ३३०० करोड नेपाली रुपैयाँ) रहेको छ । यस पुलले असम र अरुणाचल प्रदेशको दूरी १६५ किलोमिटर कम भएको छ ।
यो पुल बनेपछि अब ६ घन्टाको यात्रा १ घन्टामा झरेको छ । करिब ९.१५ किलोमिटर लामो तथा १२.९ मिटर चौडाई भएको ढोला-सादिया पुललाई ८.०३ म्याग्निच्यूडको भूकम्प आउँदा पनि असर गर्नेछैन ।
पुलमार्फत सदियाबाट ढोला सहरसम्म अब ६० मिनेटमै पुगिनेछ । पहिले यो यात्रा ६ घन्टाको थियो । यो पुल मुम्बईको बान्द्रा-वर्ली सी लिङ्क पुल भन्दा ३.५५ किलोमिटर लामो रहेको छ । यो पुल देशको सुरक्षाका लागि पनि रणनीतिकरुपमा महत्वपूर्ण रहेको छ।
असमका मुख्यमन्त्री सरबानन्द सोनोवालका सञ्चार सल्लाहकार ऋषिकेश गोस्वामीले मोदीले सदैव पूर्वोत्तरका राज्यलाई अष्टलक्ष्मीको संज्ञा दिएका छन् ।
यो पुल असमको राजधानी दिसपुरदेखि ५४० किमी र अरुणाचल प्रदेशको राजधानी इटानगरदेखि ३०० किमी टाढा रहेको छ । चीनको सिमानाबाट पुलको हवाई दुरी केबल १०० किमी रहेको छ ।
यो पुल भारतको उत्तर-पुर्वी क्षेत्रका दूरदराजका इलाकामा रहे्का जनतालाई देशका अन्य भागसँग जोड्ने माध्यम बनेको छ । अहिलेसम्म यो क्षेत्रका मानिसहरु देशका अन्य भागसँग जोडिन डुंगाको सहारा लिने गर्थे ।
पुलमा ६० टनको लडाकू ट्यांकक उतार्न सकिनेछ । चीनको सिमानामा सुरक्षाफौज पुग्न पनि अब सहज भएको छ। यो पुललाई भारतले पब्लिक-प्राइभेट पार्टनरसिपमा बनाएको हो । यस पुलले असम-अरुणाचलमा पर्यटन पनि बढ्ने विश्वास लिइएको छ भने स्थानीय तहमा रोजगारी पनि बढ्ने बताइएको छ ।