भक्तपुरको बिस्का: जात्रामा कानफट्टा जोगीद्वारा तान्त्रिक पूजा, भैरवनाथको किंवदन्तीसँग जोडिएको परम्परा अझै जीवित

84

भक्तपुर — भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको चौथो दिन, खलामा योसिं ड्यः (लिंगो) उठाउनु अघि, एक विशिष्ट तान्त्रिक अनुष्ठान  विधिपूर्वक सम्पन्न गरिएको छ। यो परम्परा सताब्दीयौँदेखि निरन्तर चल्दै आएको हो।

तमारीस्थित भैरव मन्दिर अगाडि आयोजित यो अनुष्ठानमा काशी (वाराणसी) बाट विशेषरूपमा आउने कानफट्टा जोगी (नाथ सम्प्रदायका तान्त्रिक साधक) द्वारा तान्त्रिक पूजा र प्रतीकात्मक बलि अर्पण गरिन्छ। यो अनुष्ठान बिस्का: जात्राको आध्यात्मिक पक्षको एक महत्वपूर्ण अंग मानिन्छ।

भैरवनाथसँग जोडिएको किंवदन्ती

स्थानीय किंवदन्तीअनुसार, भैरवनाथ—भगवान् शिवको उग्र रूप—कहिल्यै बिस्का: जात्राको भव्यता अवलोकन गर्न काशीबाट भक्तपुर आउनुभएको थियो भन्ने मान्यता रहेको छ । तर उहाँका दैवी चिन्हहरू देखेपछि भक्तपुरका तान्त्रिक पुरोहितहरूले उहाँलाई पहिचान गरे र यस्ता शक्तिशाली देवता यहाँ बाट फर्किन दिनु हुन्न यहीँ देवलाइ विराजमान गराउनु पर्छ भन्ने निष्कर्षमा पुगे।

भैरवनाथले यो चाल बुझेर जमिनमा बिलाउन थाल्नुभएपछि, तान्त्रिकहरूले उहाँको शिरच्छेद गरी भक्तपुरमै स्थायी रूपमा प्रतिष्ठित गरे। अहिलेको तमारीस्थित भैरव मन्दिर यही ऐतिहासिक तथा दैवी घटनाको स्मारक मानिन्छ।

यस प्रसंगको सम्झनामा प्रत्येक वर्ष बिस्का: जात्राको चौथो दिन कानफट्टा जोगीको उपस्थितिमा तान्त्रिक पूजा गरिँदै आएको छ, जसले भक्तपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरलाई अझ गहिरो बनाएको छ।