१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभर विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइयो। शिकागोका मजदुरहरूले सुरु गरेको ऐतिहासिक आन्दोलनको सम्झनामा मनाइने यो दिन आज पनि श्रमिकहरूको संघर्ष, पीडा र अधिकारप्रति जनचेतना जगाउने सशक्त अवसर बनेको छ।
वि.सं. १८८६ मा अमेरिकाको शिकागो शहरमा लाखौं मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम, र आठ घण्टा पारिवारिक समयको माग राख्दै सुरु गरेको आन्दोलनमा उनीहरूलाई दमन गरियो। त्यसको प्रतिकारस्वरूप आन्दोलन झन उचाइमा पुग्यो र त्यसपछि विश्वभर आठ घण्टा कामको अधिकार स्थापित भयो। त्यस दिनको स्मरणस्वरूप आज हामी “मे १” लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छौं।
नेपालमा पनि पछिल्ला केही दशकयता यो दिन मजदुर आन्दोलनको प्रतिविम्ब बनेर आएको छ। मजदुरहरूले आफ्ना हकहितका लागि केवल पीडा सहनु मात्रै हैन, पूँजीपति वर्ग र त्यसको संरक्षण गर्ने सरकारविरुद्ध सचेत र संगठित संघर्ष गर्नुपर्ने शिक्षा यही दिवसले दिन्छ।
दुर्भाग्यवश, आज पनि मजदुरहरू विभिन्न रूपका शोषण र दमनको सिकार छन्। कतिपय अवस्थामा उनीहरू आन्दोलनमा सहभागिता जनाएबापत जागिरबाट निकालिन्छन्, डर त्रास देखाइन्छ, वा हिंसाको सिकार बनाइन्छ। यस्तो अवस्थामा श्रमिक दिवस केवल औपचारिकता बनिरहनु विडम्बनापूर्ण अवस्था हो।
आजको नेपालमा करिब ८० लाख युवा वैदेशिक रोजगारीमा गएका छन्। यो पलायन सरकारको असक्षमता र बेरोजगारी व्यवस्थापनको असफलताको परिणाम हो। आफ्नै देशमा उत्पादनशील कामका अवसरहरू सिर्जना गर्ने दिशामा राज्य गम्भीर देखिँदैन। विदेशिएका नेपालीहरू त्यहाँ अनेक खालका शोषणमा परिरहेका छन्—शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भोगिरहेका छन्। कतिपय त ज्यान गुमाएर बाकसमा फर्किरहेका छन्, जुन हामी सबैका लागि दुःखद यथार्थ हो।
सरकारले वैदेशिक रोजगारलाई विकल्प होइन, समाधान ठान्नु आफैंमा खतरनाक सोच हो। विदेशबाट पठाइएको रेमिट्यान्समा कर लिई सरकार चलाउनु र तिनै रकममा फुलमाला लगाउनु जनताको पसिनाको उपहास हो। सरकारले आफ्नो मुख्य कर्तव्य—देशभित्र रोजगारी सिर्जना गर्नु—बाट पन्छिनु भनेको नागरिकमाथि दोहोरो अन्याय गर्नु हो।
कम्युनिष्ट दलहरू श्रमिक वर्गकै प्रतिनिधि भन्दै आएका छन्। तर व्यावहारिक रूपमा उनीहरूको शासनकालमा पनि श्रमिकहितका ठोस कदमहरू देखिन सकेका छैनन्। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि मजदुर भएको दाबी गर्दै तलब १५ हजार पुर्याउने घोषणा गरे। तर यस्तो घोषणाले मजदुरको जीवनमा कति सकारात्मक असर पर्छ, त्यो स्पष्ट छैन। यस्ता अभिव्यक्तिहरू विगतमा पनि आएका थिए, तर व्यवहारमा तिनले मजदुरका समस्या समाधान गरे भन्ने देखिएको छैन।
अतः मजदुर दिवसको सन्देश केवल नारामा सीमित हुनु हुँदैन। यसले वास्तविक नीति निर्माण र कार्यान्वयनमा प्रभाव पार्नुपर्ने हो। मजदुर वर्गलाई सम्मान र न्याय दिन नसक्ने सरकारहरू कुनै पनि हालतमा जनताको प्रतिनिधि हुन सक्दैनन्।
श्रमिक वर्गको जीवनस्तर उकास्न, स्वदेशमै रोजगारी सिर्जना गर्न, र देशको उत्पादनशीलता बढाउन सबै पक्ष एकजुट हुनुपर्ने आजको आवश्यकता हो। अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई केवल उत्सवका रूपमा होइन, संकल्पका रूपमा लिनु आजको माग हो।