सास नफेरी बाँच्न सकिन्छ ?

646

वायु प्रदूषण नियन्त्रण गर्न ध्यान नदिँदा काठमाडौं सहर हावा सासै फेर्न नहुने विषाक्त बनिसकेको छ

हावा र पानीबिना प्राणी बाँच्दैनन् । यसैले मानिसलाई पनि बाँच्नका लागि नभई नहुने स्वच्छ हावा र पानी हो । फोहोर पानी र विषालु हावामा मानिस लामो समय बाँच्न सक्तैन । तर, कुनै बेला कविले अलकापुरी नाम दिएका र संसारकै आकर्षक गन्तव्य रहेको काठमाडौं उपत्यकामा अहिले खान हुने पानी त पाइँदैनन नै हावा पनि सासै फेर्न नसकिने गरी विषालु भइसकेको छ । काठमाडौं सहरको हावाले खतराको स्तर नाघेकै केही वर्ष भइसक्ता पनि सरकारलगायत सरोकारवाला भने झारा टारेर बसेका छन् । खानेपानीका लागि मेलम्चीको सपना देखाएर अलमल्याइएको छ तर वायु प्रदू्रषण नियन्त्रणका लागि भने सरकारसँग ठोस कार्यक्रम देखिएको छैन । वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने ठोस सरकारी कार्यक्रम २० वर्षे सवारी साधनलाई निषेध गर्नुमात्रै हो । यस निर्णयमा पनि विवेकभन्दा बढी हचुवा सामान्यीकरण प्रयोग भएको छ । यसैले काठमाडौंको प्रदूषण निकट भविष्यमा रोकिएला भन्ने अपेक्षा गर्नु मूर्खता ठहरिनेछ ।

काठमाडौंको भू बनोट गर्दा यहाँ उत्पन्न हुने धुलो र धुवाँ उपत्यकाभित्रै रङमगिने गर्छ । ठूलै वर्षा वा हुरीले मात्र काठमाडौंलाई धुलो र धुँवाबाट क्षणिक त्राण दिलाउने हो । यसैले धुलो र धुवाँको स्रोतमै नियन्त्रण गर्नुबाहेक उपत्यकाको बिखालु हावालाई सास फेर्न सकिने बनाउने अरू उपाय छैन । हुरी वा झरी चाहेका बेला त ल्याउन सकिँदैन । यसको अर्थ बर्खायामका तीनचार महिनाबाहेक अरू बेला काठमाडौंको वायु प्रदूषण प्राकृतिकरूपमा नियन्त्रित हुँदैन भन्ने नै हो । काठमाडौंको वायुलाई विषाक्त बनाउने धुलो मूलतः सरकारले सुरु गरेको सडक विस्तार र मेलम्ची खानोपानी आयोजनाबाट उत्पन्न भएको हो । थोत्रा गाडी गुडाउने र सडक भत्काएर वा खाडल खनेर वर्षौंसम्म अलपत्र छाड्ने गरिएका कारण लाखौं उपत्यकाकावासी सधैँका लागि दम, मुटु, फोक्सो, आँखा, नाक, कान, घाटीका रोगी हुनपुगेका छन् । विडम्बना, यिनै रोगी जनताले मत दिएर चुनेका प्रतिनिधि वा यिनैको पसिनाबाट संकलित ढुकटीबाट तलब खाने कर्मचारीले भने उपत्यकाको वायु प्रदूषण समस्यालाई कहिल्यै गम्भीरतापूर्वक लिएनन् ।

उपत्यकाको फोहोर व्यवस्थापन र वायु प्रदूषण चुनावमा समेत उमेदवारहरूको एजेन्डा बन्ने गरेको छ । तर, निर्वाचित प्रतिनिधिको प्राथमिकतामा भने पर्ने गरेको देखिएन । सहरभित्रका सानातिना खाडलहरूमात्र बेलैमा पुर्ने हो भने हावामा मिसिने धुलोको मात्रा धेरै कम हुन्छ । फोहोर र घाँस बाल्नमात्र रोक्ने हो भने पनि हावालाई बिखालु बनाउने धुवाँकोे मात्रामा उल्लेख्य कमी हुन्छ । विद्युतीय यातायातका साधनलाई प्रश्रय दिने नीति अपनाएर पनि वायु प्रदूषणमा उल्लेख्य नियन्त्रण गर्न सकिन्छ । यस्तै सार्वजनिक यातायातमा ठूला सवारी साधनलाई प्रोत्साहन गर्नसके यातायात सेवा सुरक्षित र सुविधाजनक हुनुका साथै त्यसबाट प्रदूषण नियन्त्रण र ट्राफिक व्यवस्थापन पनि सहज हुनेछ । हावालाई सास फेर्न सकिनेसम्म पनि बनाउन नसक्ने वा नखोज्नेहरूले विकासका ठूला कुरा गर्दा कसैले पनि पत्याउँदैन । यसैले सरकारका सबैतहले काठमाडौंको हावालाई सास फेर्न सकिने बनाउन प्राथमिकता दिनुपर्छ । काठमाडौंको दुर्दशाबाट उपत्यकाबाहिरका बासिन्दा र सरोकारवालाहरूले पनि पाठ सिक्नु आवश्यक छ । सबैतहका सरकारका पदाधिकारीलाई नागरिक सबैले ‘सास फेर्न नपाए कसरी बाँच्ने ?’ भनेर सोध्नु अत्यन्त जरुरी भइसकेको छ ।   बाह्रखरी