वर्ष २०२१ मा सेयर बजार : परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको कारोबार

60

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक ‘नेप्से’मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो।

ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर बजार सन् २०२१ मा सूचक झण्डै २१ प्रतिशतले बढेको छ भने यस वर्ष कारोबार २१ अर्ब रुपैयाँभन्दा माथि भएको नेप्सेले जानकारी दिएको छ। यस वर्ष नेप्से सूचक गत भदौ सबैभन्दा उच्च ३१९८.६० विन्दुसम्म पुगेको थियो।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यस वर्ष १८.१९ प्रतिशतले बढेको छ। २०२० डिसेम्बरको अन्तिम कारोबारको दिनमा २०८७.२७ विन्दुमा कायम रहेको नेप्से सूचक २०२१ डिसेम्बरको अन्तिम कारोबार दिनसम्ममा ४३७.२७ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ।

सन् २०२० को अन्तिम कारोबार दिनसम्ममा कूल चार खर्ब ८४ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा २०२१ को अन्तिम कारोबार दिनसम्म १८ खर्ब ९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। यस वर्ष कारोबार रकम १४ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ। प्रतिशतमा यस वर्ष कारोबार रकम पनि २९१ प्रतिशतले बढेको छ।

यस वर्ष धेरै नयाँ कम्पनीहरु दोस्रो बजारमा कारोबारमा आएका छन्। यसकारण यो वर्ष सेयर कारोबार संख्या पनि उल्लेखनीय रुपमा बढेको देख्न सकिन्छ। यस वर्ष नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि २७ प्रतिशतले बढेको छ। सन् २०२० को अन्तिममा २८ खर्ब ८ अर्ब रहेको बजार पुँजीकरण २०२१ को अन्तिममा ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

समूहगत प्रदर्शन
सन् २०२१ मा कारोबारमा आएका १३ उपसमूहहरु रहेका छन्। उक्त उपसमूहमध्ये यस वर्ष सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक बढेको छ। २०२० देखि २०२१ सम्म आउँदा सबैभन्दा कम जीवन बिमातर्फको सूचक बढेको छ। यद्यपि, २०२० देखि २०२१ सम्म आउँदा सबै समूहतर्फको सूचक बढेका छन्।

फाइनान्स समूहको सूचक यस वर्ष १३८.६७ प्रतिशतले बढेको छ। २०२० को अन्तिमसम्ममा ८६९.४३ विन्दुमा रहेको फाइनान्स उपसमूहको सूचक बढेर २०७५.०७ विन्दुमा पुगेको हो।

फाइनान्स कम्पनीपछि सबैभन्दा धेरै बढ्नेमा विकास बैंक समूहको रहेको छ। यस समूहको सूचक पनि यस वर्ष गत वर्षको भन्दा ९८.४१ प्रतिशतले बढेको छ। यस समूहको सूचक सन् २०२० मा २१२९.४५ विन्दुमा थियो। यस वर्ष बैंकिङ समूहको सूचक २०९५.६३ अंकले बढेर ४२२५.०८ विन्दुमा आइपुगेको छ।

यस्तै जलविद्युत समूहको सूचक ७४.१३ प्रतिशतले बढेको छ। गत वर्ष १८८४.१३ विन्दुमा रहेको जलविद्युत समूहको सूचक यस वर्ष बढेर २७५५.९३ विन्दुमा आइपुगेको छ।

यसैगरी होटस समूहको सूचक यस वर्ष समग्रमा ६०.४६ प्रतिशतले बढेको छ। सन् २०२० मा १८९४.१३ विन्दुमा रहेको यस समूहको सूचक ११२९.२२ अंकले बढेर ३०२३.३५ विन्दुमा पुगेको छ।

लघुवित्त वित्तीय संस्थाको सूचक पनि यस वर्ष ४८.८९ प्रतिशतले बढेको छ। सन् २०२० को अन्तिम कारोबार दिनसम्म ३२८५.८३ विन्दुमा रहेको यस समूहको सूचक यस वर्ष १६०६.८२ अंकले बढेर ४८९२.२५ विन्दुमा आइपुगेको छ।

सन् २०२० मा ११.५१ विन्दुमा रहेको म्युचुअल  फण्ड २०२१ को अन्तिम कारोबारसम्म २९.७१ प्रतिशतले बढेर १४.९३ विन्दुमा आएको छ। यसै उत्पादन तथा प्रशोधन समूहतर्फको सूचक पनि २०२० अन्तिमदेखि २०२१ सम्म आउँदा २५.८५ प्रतिशतले बढेको छ। यस समूहको सूचक २०२० को अन्तिमसम्म ५४४६.२५ विन्दुमा थियो। २०२१ को अन्तिमा आउँदा यस्तो सूचक ६८५४.१४ विन्दुमा आइपुगेको छ

निर्जीवन बीमा समूहको सूचक पनि २०२० को अन्तिम देखि २०२१ सम्म आउँदा २३ प्रतिशतले बढेको छ। २०२० मा ९४४० विन्दुमा रहेको यस समूहको सेयर मूल्य २०२१ को अन्तिमसम्म आउँदा २१७० अंकले बढेर ११६१० विन्दुमा आइपुगेको छ।

यस वर्ष अन्य समूहतर्फको सूचक १६.४७ प्रतिशतले बढेर १९४७.३३ विन्दुमा आइपुगेको छ। २०२० को अन्तिमसम्म यस समूहको सूचक १६७१ विन्दुमा कायम रहेको बैंकिङ समूहको परिसूचक २०२१ को अन्तिमसम्म आउँदा ७.३७ प्रतिशतले बढेर १७०२.१२ विन्दुमा आइपुगेको छ।