राष्ट्रवादका नाममा पुरानै ‘मसला’ गदर–२

103

एक पटक फेरि राष्ट्रवाद र राष्ट्रियताको आडमा चलचित्र मार्फत व्यापारको पसलमा गदर–२ दर्शक सामु पस्किएको छ। दुई दशकअघिकै कथालाई निरन्तरता दिँदै गदर एक प्रेम कहानीको समाप्त कथालाई फेरि ब्युँताउँदै कथा अगाडि बढाइएको छ।

अर्थात् नयाँ सि सीमा पुरानै दारु भने जस्तै गदर २ पनि दर्शक सामु आएको छ ।

तारा सिंहको अवतारमा सन्नी देवल फेरी छाएका छन्। अमिषा पटेल (सकिना), निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्मा (जिते) पुरानै पात्रबाट चलचित्रको कथा अगाडि बढेको छ। यस बाहेक सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार यस फिल्ममा छन्।  गदरमा श्रीमती सकिनालाई घर फिर्ता ल्याउन पाकिस्तान पुगेका तारा सिंह यानि सन्नी ठुलो सङ्घर्षबाट फर्केका थिए। सन्नी पाकिस्तानी ससुरा बा असरफ अलि यानि अमरिस पुरीबाट आफ्नी पत्नी सकिनालाई फिर्ता ल्याउन सफल भएका थिए।

मुसलमान असरफ अलिले हिन्दु सन्नी देवल (तारा सिंह) लाई छोरी सुम्पेर हिन्दुस्तान बिदाइ गरेसँगै अन्त्य भएको गदरको कथाबाट गदर–२ सुरु हुन्छ। तारा सिंह, सकिना र छोरासँग खुसीको जिन्दगी बाँचिरहेका यो परिवारका सदस्यलाई आखिर पाकिस्तान जाने बाध्यता कसरी आइलाग्छ। पाकिस्तान पुगेको र स्वदेश (भारत) फकर्दा सम्मको संर्घष नै यो चलचित्रको कथा हो।

यो सन्नी देवल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदर: एक प्रेम कथाको सिक्वेल हो। गदर सर्व कालीन ब्लकबस्टर बनेको छ। दुई दशक पुरानो गदरको कथामा जस्तै यो चलचित्रमा नयाँ केही पनि छैन भन्दा फरक पर्दैन। सकिनाका स्थानमा सन्निका छोरा जितेलाई राख्दा कथामा फरकपन केही पाइँदैन। चलचित्रमा बाँकी केही कुरा पक्का जस्तै छ। पानी तान्ने कल पक्का देखिने छ। सन्नीको ढाई किलोको हातको पनि भरपुर प्रयोग गरेको देखिन्छ। जसको प्रयोगले हावामा मान्छेलाई उडाइ रहेका छन् सन्नी।

दिवङ्गत कलाकार अमरिस पुरी यानि असरफ अलिको अभाव चलचित्रमा महसुस गर्न सकिन्छ। उनी जस्तै वा उनको स्थानमा क्षतिपूर्ति भर्ने पात्र वा कलाकारको आवश्यकता कहीँ कतै देखिन्छ। चलचित्रको कमजोरी पक्ष भन्ने हो भने यसको लम्बाइ एकदम पट्यार लाग्दो छ। गीतले धेरै स्थान लिएको छ। छिनछिनमा गीत बज्छ। त्यो पनि गदरका दुई दशक पुराना गीतहरू। सङ्गीत र गीतमा नयाँ मिहिनेत गरेको नै छैन भन्दा फरक पर्दैन। पुरानै फिल्मको डाइलग, सङ्गीत र गीत मार्फत चलचित्र हेर्न दर्शक तान्ने प्रयास गरिएको छ।

क्रस बोर्डर लभ स्टोरी यानि अन्तर्देशीय प्रेम कथामा राष्ट्रवाद अर्थात् पाकिस्तान विरुद्ध उग्र राष्ट्रवाद देखाउन खोजिएको छ। बलिउडमा प्रयोग हुने पुरानै सूत्र प्रयोग गर्दै राष्ट्रवाद र पाकिस्तान विरोधी कथाबाट सुरु गदर–२ को कथा अन्त्य पनि पुरानै ठाउँमा समाप्त हुन्छ। पाकिस्तानी सेना र तारा सिंहको सङ्घर्षलाई सर्प तथा सिडीको खेलजस्तै दुरुस्त उतार्ने प्रयास चलचित्रमा गरेको पाइन्छ। पाकिस्तानका शासक र सेनालाई खलपात्र बनाएर भारतका दर्शक सामु राष्ट्रवादी बन्न खोजिएको छ। कथाको मूल सार नै यही छ भन्दा फरक पर्दैन। जनस्तरको सम्बन्धमा भने चलचित्रको कथाले केही सहानुभूति दर्साउन खोजेको छ।

आरआरआर, केजिएफ, पुष्पा, बहुबली लगायतका चलचित्रले बलिउडभन्दा साउथमा आकर्षण बढेको बेला गदर–२ को राष्ट्रवादी चलचित्रले सिनेमा घरसम्म दर्शक तान्नेमा भने आशङ्का गर्ने ठाउँ छ। तर अगस्ट १५ को मुखमा भारतीय दर्शक सामु ल्याइएको एक देशभक्त चलचित्रले कत्तिको व्यापार गर्न सक्ला त्यो भने केही दिनमै थाहा पाइनेछ।